logo
२०८१ मंसिर १३ बिहीवार



क्वारेन्टाइनस्थलमै माइकिङमार्फत जनचेतना जगाउँदै सुरक्षा प्रमुखहरू

प्रदेश |


क्वारेन्टाइनस्थलमै माइकिङमार्फत जनचेतना जगाउँदै सुरक्षा प्रमुखहरू


नेत्र शाही

जुम्ला जेठ २२ गते । जिल्ला स्तरीय सुरक्षा समितिले राजमार्ग क्षेत्रका क्वारेन्टाइनको अनुगमनसहित कोरोना भाइरस रोकथाम विषयमा जनचेतना दिँदै हिँडेको छ ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रहरी नायब निरीक्षक लालबहादुर धामी, सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ, नेपाली सेनासहित सबै सुरक्षा निकायको टोलीले क्वारेन्टाइनको अनुगमन तथा जनचेतना जगाउने काम गरिरहेको हो ।

जिल्लाको कर्णाली राजमार्ग क्षेत्रका तिला गाउँपालिकाको सरस्वती माध्यामिक विद्यालय कुडारी, सीता मावि रारालिही, तिला गाउँपालिकाको दुर्गा मावि, लाम्रासहितका विद्यालयहरूमा अनुगमन गरी सुरक्षाको अवस्था र व्यवस्थापनको विषयमा जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभएको छ ।

यसैगरी, सीता मावि, रारालिहीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक गगन श्रेष्ठले जानकारी दिनुभयो । टोलीले तिला र तातोपानीमा क्वारेन्टाइन राम्रो भएको बताएको छ । यसअघि पनि जिल्लाका विभिन्न क्षेत्रमा अनुगमन गरेको थियो ।

स्थानीय तहमा कडा सुरक्षा व्यवस्था गर्न स्थानीय तहले अनुरोध गरिरहेको समयमा सुरक्षा समितिले क्वारेन्टाइनहरूको अवलोकन गरेको हो । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले भारतबाट आएका एकीकृत क्वारेन्टाइनमा सकिँदो राम्रो गर्ने गरी व्यवस्थापन गरिएको बताउनुभएकाे छ । यसका साथै स्वदेशबाट आएका व्यक्तिहरूलाई वडामा राख्ने गरिएको जानकारी दिनुभयो । यसैगरी, जिल्लाका अन्य क्वारेन्टाइन क्षेत्रसमेत निरीक्षण गरिने भएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई १४ दिन सुरक्षित बस्न माइकिङबाट जनचेतना दिँदै टोलीले अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । नेगेटिभ आएपछि आकस्मिक भेटघाट गरिने उहाँले जानकारी दिनुभयो । जिल्लाबाहिरबाट आएकाले सेल्फ क्वारेन्टाइनमा बसेको र आफूसँग सम्पर्क भएका १० जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा ७०१ जना  
अहिले भारत र तेस्रो मुलुकबाट जिल्लाका विभिन्न एकीकृत क्वारेन्टाइनमा ७०१ जना रहेका छन् । कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा १७१ जना, दुर्गा मावि, लाम्रामा ६३ जना, सरस्वती मावि, कुडारीमा १३१ जना, सीता मावि, रारालिहीमा ११९ जना, राहादेव मावि, मोफ्लामा ७४ जना, नेत्र ज्योति मावि, हाँकुमा ७६ जना, छुमचौरमा २२ जना र अन्य ३५ जना रहेका जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क रहेको छ । आज जिल्लामा ४५ जना क्वारेन्टाइनमा थप भएकाे जानकारी दिइएकाे छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?