मुरारी अधिकारी
धादिङ, जेठ २३ गते । जिल्ला सदरमुकाम धादिङबेँसी -७ स्थानीय तहको मुख्य बजार हो । राजमार्ग क्षेत्रबाहेक अन्य सबै भेकमा जिल्ला सदरमुकामबाट नै दैनिक उपभोग्यवस्तु र अन्य व्यापारिक सामग्री खरिदबिक्रीकाे मुख्य बजार सदरमुकाम नै हो ।
लकडाउनयता खाद्यान्न, सिमेन्टलगायत निर्माण सामग्रीबाहेक होटललगायत अन्य व्यापार ठप्प भएपछि स्थानीय व्यापारी जुर्मुराउन थालेका छन् । जिल्ला उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, होटल सङ्घलगायत व्यवसायीहरूको संस्थाको अनुरोधमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला समन्वय बैठकले सबै व्यापार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्ने निर्णय गरेपछि व्यापारीहरू हौसिएका हुन् ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्रीका अनुसार सदरमुकाम बजारका होटल रेष्टुरेण्ट र अन्य पसलहरूले भाडाका सटर नै खाली गर्न थालेपछि लकडाउनलाई असर नपर्ने गरी व्यापार खुला गर्ने सिफारिस गरिएको हो । अध्यक्ष खत्रीले भन्नुभयाे, 'निश्चित व्यापार फस्टाइरहने, अन्य व्यापार पसल बन्द गरेर महिनौँ चर्को घरभा्डा तिर्न परेपछि अवज्ञा शुरु हुने अवस्था आउन नदिन व्यापारलाई क्रमशः सामान्य बनाउँदै लैजाने निर्णय गरेका हौँ ।'
‘जिल्लाका सुविधासम्पन्न होटल सञ्ञ्चालकहरूले पनि वैदेशिक रोजगारीबाट फर्कनेहरूलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छौँ, घर नगएर होटल क्वारेन्टाइनमै बस्न चाहनेहरूका लागि चलनचल्तीकै दरभाउमा होटलहरू खुल्ला रहनेछन्’–जिल्ला होटल संघका अध्यक्ष राजकुमार श्रेष्ठले भन्नुभयो ।
लकडाउनकै अवधिमा भारतबाट निरन्तर नागरिकहरू आउने क्रम जारी रहेको छ । कमाई गर्न भारत गएकाहरूमध्ये सबैभन्दा बढी नीलकण्ठ नगरपालिकाकै छन् । गत जेठ १ गतेयता शुक्रबारसम्म धादिङ जिल्लाभर ७५३ जना नेपाली भारतबाट धादिङ भित्रिएका छन् । भारत गएका नगरपालिका क्षेत्रका ३४ जना महिला र २३३ जना पुरुषसहित २६७ जना छन् । उनीहरू सबैलाई सम्बन्धित स्थानीय तहले स्थानीय विद्यालयमा बनाइएका क्वारेन्टाइनमा नै राखेको छ । तर भारतबाट आउने कसैको पनि पीसीआर भने परीक्षण भएको छैन ।
कतिपयलाई एक हप्तामै घर पठाइएको छ । नीलकण्ठ नगरपालिकाले नीलकण्ठ बहुमुखी क्याम्पस, नीलकण्ठ मावि, बालमन्दिर माविमा राखिएकाे छ । क्वारेन्टाइनमा राखिएका सबैलाई हरेक बिहान योगा गर्न लगाईन्छ भने क्वारेन्टाइनमा मद्यपान तथा धूमपान निषेध गरिएको छ । बिहीबार केहीलाई आरडीटी परीक्षणपछि घर पठाइएको छ । जिल्लामा सबैभन्दा बढी भारतबाट फर्कने ज्वालामुखी, त्रिपुरासुन्दरी र नेत्रावती डबजोङ गाउँपालिकाका छन् ।
धादिङमा २३ सय ५० जनाको आरडीटी, १०२ जनाको पीसीआर
कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेसँगै धादिङ जिल्लामा शुक्रबारसम्म २३ सय १८ जनाको आरडीटी गरिएको छ । अन्य जिल्लाबाट भित्रिएका शङ्कास्पद व्यक्तिहरू, सुरक्षाकर्मी, गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार गरी २ हजार ३५० जनाको आरडीटी गरिएको स्वास्थ्य कार्यालय, धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख पौडेलले भन्नुभयाे, ‘तीमध्ये ७२ जनाको आरडीटी पोजिटिभ देखिएको थियो, ४१ जनालाई तत्काल आइसोलेसनमा राखियो र उनीहरू सबैजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि फिर्ता पठाइयो । तर भारतबाट आएकाहरूको बिहीबार मात्र आरडीटी गरिएकाले स्वाब सङ्कलन गर्ने काम भइरहेको छ।'
धादिङ प्रहरीले जिल्ला भित्रिने नाकाहरूमा कडाइ गर्दै भारतबाट आएकाहरूलाई सुरक्षित तरिकाले गाउँपालिकाको जिम्मा लगाउने काम गरिरहेको छ तर क्वारेन्टाइनमा राखिसकेपछि गर्नुपर्ने परीक्षण हुन नसक्दा क्वारेन्टाइमै सङ्क्रमण फैलिने खतरा बढेको छ । त्यस्तै, धादिङ जिल्लामा हालसम्म १६२ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर भने कोरोना सङ्क्रमण देखिएका व्यक्तिहरूको सम्पर्कमा रहेका व्यक्ति र नियमित कामकाजमा खटिएका स्वास्थ्यकर्मीहरू र आरडीटी पोजेटिभ देखिएकाहरूको मात्रै गरिएको हो । एक सय ५१ वटा पीसीआरको रिपोर्ट नेगेटिभ आएको र बाँकी ११ वटाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यलय, धादिङका महामारी सम्पर्क अधिकारी दीपक अछामीले जानकारी दिनुभयो ।