logo
२०८१ फाल्गुन १६ शुक्रवार



लमजुङका गाउँमा धान रोपाइँ शुरु

प्रदेश |


लमजुङका गाउँमा धान रोपाइँ शुरु



बेलिना थापा
लमजुङ, जेठ २५ गते । लमजुङका किसानले मुख्य खाद्यबाली धान रोप्न शुरु गरेका छन् । असार नलाग्दै जिल्लाका ग्रामीण भेगमा धान रोप्न शुरु गरिएको हो । खेतमा लगाएको आलु, गहुँ, प्याज, लसुन थन्काएर किसानले धान रोप्न थालेका छन् । मस्र्याङदी गाउँपालिका ५ घेर्मुका किसानहरु यतिबेला धमाधम धान रोप्दैछन् ।

स्थानीय किसान बेलप्रसाद गुरुङका अनुसार गाउँको घेर्मुफाँटमा धान रोप्न थालिएको छ । खेतमा लगाइएको आलु, गहुँ, प्याज, लसुन थन्काएर धान रोप्न थालेको उहाँले बताउनभुयो । घेर्मुफाँटमा राम्रो सिंचाईको सुविधा भएकाले जेठ महिनामै धान रोपिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘खेतमा लगाएका तरकारी बाली थन्काएका छौं । पानीको राम्रो सुविधा भएकाले धान रोप्न थालेका छौं । मैले ७ रोपनी जग्गामा धान रोप्ने योजना बनाएको छु ।’

किसानले गाउँमा स्थानीय जातको मार्सी धान, हाइब्रिट जातको शंकर धान लगाएका छन् । गत बर्ष भन्दा यो बर्ष केही समय छिटो रोपाई भएको उहाँले बताउनुभयो । स्थानीय खड्क गुरुङका अनुसार गाउँका अधिकांश किसानले धान रोप्न थालेका छन् । सिंचाईको राम्रो सुविधा र धानको बीउ हुर्किएपछि किसानले रोपाई गरेका हुन् । किसानका अनुसार सिंचाई सुविधा भएका ठाउँमा धान रोपाइँ धमाधम भइरहेको छ । मकै खेती गरेका जग्गामा मकै नपाकिसकेकाले धान रोपाई हुन सकेको छैन ।

क्व्होलासोंथर गाउँपालिका ४, भुजुङका यामबहादुर गुरुङका अनुसार घिम्चे फाँटमा धान रोप्ने तयारी गरिएको छ । घिम्चे फाँटमा सिंचाईको सुविधा भएकाले धान रोप्ने तयारी गरिएको हो । अहिले खेतमा लगाएको गहुँ, जौ, आलु, केराउ खेती थन्काउँदै गरेकाले सोमबारबाट धान रोप्ने उहाँले बताउनुभयो । भुजुङमा नयाँ सिंचाइ आयोजना सञ्चालन भइरहेकाले धान रोप्नका लागि सहज हुने स्थानीयले बताएका छन् । स्थानीयले पानीको कुलो बनाएर पानी ल्याएका छन् ।

कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थ विज्ञ मदन रेग्मीका अनुसार सिंचाई पुगेको ठाउँ, चिसो ठाउँ र उचाईमा भएका ठाउँमा रोपाइँ थालिएको छ । लमजुङमा सिंचाई राम्रो भएको ठाउँमा जेठ अन्तिम साताबाटै रोपाइँ थालिने गरिएको बताउनुभयो । उहाँका अनुसार किसानले पहिलेको तुलनामा गोरुको प्रयोग कम मात्रामा प्रयोग गर्ने गरेका छन् । केही गाउँमा गोरु नै प्रयोग गर्ने गरेपनि सम्म फाँटहरुमा हाते ट्याक्टर प्रयोग गरेर रोपाइँ गर्ने गरेका छन् ।

लमजुङका ठूला–ठूला फाँटहरु राइनासटार, धमिलिकुवा, रामचोकबेंसी, भलायखर्क, चक्रतीर्थ, मध्यनेपालको भोर्लेटार, दुइपिप्ले, सोतिपसल, सुन्दरबजारको सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका ठाउँमा लोकलसंगै उन्नत जातको धान लगाइने गरिन्छ । केन्द्रका अनुसार १४ हजार ७ सय ८८ हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ ।

जिल्लाका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३ सय १२, मकवानपुर, बर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?