logo
२०८१ मंसिर १३ बिहीवार



काेराेना परीक्षण सामग्री खरिद गर्दै अछामका स्थानीय तह

प्रदेश |


काेराेना परीक्षण सामग्री खरिद गर्दै अछामका स्थानीय तह


शिवराज ढुङ्गाना
अछाम, जेठ २५ गते । कोरोना आशङ्का गरिएका व्यक्तिको परीक्षणमा आवश्यक पीसीआर र आरडीटी किट चरम अभाव भएपछि अछामका स्थानीय तह आफैँ खरिद गर्न थालेका छन् । तुर्माखाँद, ढकारी, मेल्लेख चौरपाटी, बान्नीगढी जयगढगाउँपालिका र कमलबजार नगरपालिकाले स्वाब सङ्कलन गर्ने भीटीएम र आरडीटी किट किन्न थालेका हुन् । स्थानीय तहले बढीमा एक हजारदेखि कम्तीमा डेढसय र्यापिड डाइगोन्सिस टेष्ट (आरडिटी) किट र पीसीआर किनेका छन् ।

सङ्घ र प्रदेशको भर परेर परीक्षण बिना घर पठाउँदा कोरोना सङ्क्रमण फैलनसक्ने भन्दै अछामका स्थानीय तहले परीक्षण सामग्री खरिदमा लागेको बताइएको छ । मेल्लेख गाउँपालिकाले स्वाब सङ्कलन गर्ने भीटीएम पाँच सय थान र नौ सय आरडिटी किट किनिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाको भनाइ छ । तुर्माखाँद गाउँपालिकाले पाँच सय भीटीएम र एक हजार आरडीटी किट किनेको गाउँपालिका श्रोतले जानकारी दिएको छ ।

ढकारी गाउँपालिकाले दुई सय भीटीएम र पाँच सय आरडिटी किट मगाएको गाउँपालिका स्राेतले जानकारी दिएको छ । बान्नीगढी जयगढ गाउँपालिकाले पाँच सय आरडीटी किट र केही भीटीएम खरिद गर्ने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुङ्गानाले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेका व्यक्ति परीक्षणको अभावमा व्यवस्थापनमा स्थानीय तहलाई सकस भइरहेको छ । चौरपाटी गाउँपालिकाले केही भीटीएम र आरडीटी किटको अर्डर गरिसकेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर थापाको भनाइ छ ।

“परीक्षण नै नगरी घर कसरी पठाउने भनेर आफैँ भीटीएम र किट किनेर ल्याएका छौँ ।” तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले भन्नुभयो । “केन्द्र र प्रदेशको भर परेर भएन, सामान सुर्खेत पुगिसक्यो ।” समयमै परीक्षणको अभावमा स्थानीय तहका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई रोकेर राख्नुपर्ने बाध्यता रहेको जनप्रतिनिधिको भनाइ छ ।

बिना परीक्षण घर पठाउने वा कति दिनसम्म क्वारेन्टाइनमा राख्ने भन्नेमा स्थानीय तहमा अन्यौल थपिएको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाको भनाइ छ । प्रदेश र सङ्घ सरकारप्रति निकै आक्रोशित भएका जनप्रतिनिधिले सबै जिम्मा स्थानीय तहको टाउको हालेर परीक्षण सामग्री समेत समयमै उपलब्ध नगराएको आरोप छ ।

क्वारेन्टाइनबाट घर फर्कने दिनमा व्यक्तिको स्वास्थ्य अवस्था अनुसार स्थानीय तहले भीटीएम वा आरडीटी परीक्षण गर्ने भएका हुन् । कोरोनाको लक्षणसँग मिल्दो लक्षण देखा परेमा समयमै स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाउन सहज हुने स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । थोरथोरै आरडीटी र भीटीएम किनेर आवश्यक व्यक्तिमा परीक्षण हुने कमबलजार बजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताउनुभयाे । अन्य स्थानीय तहले समेत परीक्षण सामग्री किन्ने सोच बनाएका बताइएको छ । अछामका १० स्थानीय तहका विभिन्न वडामा रहेका क्वारेन्टाइनमा छ हजार भन्दा बढी मानिस बसेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?