logo
२०८० चैत्र १५ बिहीवार



एन्फा एकेडमीमा राखिएका नौ सङ्क्रमितले कोरोना परास्त गरे

प्रदेश |


एन्फा एकेडमीमा राखिएका नौ सङ्क्रमितले कोरोना परास्त गरे


दीपक ज्ञवाली
बुटवल, जेठ २५ गते । अरु बेला खेल प्रतियोगिता र प्रशिक्षण हुने बुटवलस्थित एन्फा एकेडेमीमा अहिले आइसोलेसन सेन्टर छ । त्यही आइसोलेसनमा रहेका नौ जनाले कोरोनाविरुद्ध गोल गर्नुभयो, अर्थात् कोरोनालाई जितेर आइतबार घर फर्कनुभएको छ ।

कोरोना नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने नौ जनालाई बुटवलका उपमहानगर प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै बिदाइ गर्नुभयो । विभिन्न चरणमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएपछि विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम उनीहरूलाई डिस्चार्ज गरिएको बुटवलका प्रमुख सुवेदीले बताउनुभयो ।

आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठ जना र एक जना रुपन्देहीका हुनुहुन्छ । उहाँहरू जेठ ११ गते आइसोलेसन सेन्टरमा भर्ना हुनुभएको थियो । उहाँमध्ये कपिवलस्तुका एक जना वडाअध्यक्ष र आठ वर्षीया बालिकासमेत हुनुहुन्छ । सात जना सङ्क्रमितहरू भारतबाट फर्किएर आएकाहरू हुनुहुन्थ्यो ।

त्यस अवसरमा उपमहानगर प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले आइसोलेसनबाट सङ्क्रमणमुक्त भएर घरमा गए पनि त्यहाँ गएर अपनाउनुपर्ने स्वनियमका बारेमा जानकारी गराउँदै नियमित ज्वरो नाप्ने थर्मोमिटर, मास्क, पञ्जालगायत सामग्री प्रदान गर्नुभएको थियो ।

अब आइसोलेसनमा ३२ जना रहेका छन् । उनीहरूमध्ये केहीको दोस्रो चरणको परीक्षणमा पनि सङ्क्रमण देखिएपछि अब फेरि अवधि पूरा भएपछि स्वाब सङ्कलन गरेर परीक्षण गरिनेछ । सम्भव भएसम्म आइतबार बेलुका नै वा सोमबार स्वाब सङ्कलन गरेर पठाउने तयारी भइरहेको बुटवलका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिनुभयो ।

आइसोलेसन सेन्टरमा रहेकालाई नियमित स्वास्थ्य जाँच गर्नुका साथै नियमित रुपमा योग गुरुमार्फत योग अभ्यास, ध्यान, नृत्य गराउनुका साथै सात्विक भोजन सेवन गराइएको आइसोलेसन सेन्टरको रेखदेखमा खटिएका बुटवलका जनस्वास्थ्य अधिकृत मोहन मिश्रले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?