logo
२०८१ मंसिर १३ बिहीवार



नेपालगञ्जमा कुखुराको मासुमा चर्काे मूल्यवृद्धि : किलोको ४५० रुपियाँसम्म

प्रदेश |


नेपालगञ्जमा कुखुराको मासुमा चर्काे मूल्यवृद्धि : किलोको ४५० रुपियाँसम्म


सिराज खान
नेपालगञ्ज, जेठ २६ गते । बन्दाबन्दीको बहानामा नेपालगञ्जमा खाद्यान्न, मासुलगायत अत्यावश्यक वस्तुहरूमा समेत अत्यधिक मूल्य वृद्धि गरिएको छ ।  सरकारले कालोबजारी र मूल्य वृद्धि नगर्न कडा निर्देशन जारी गरेपनि स्थानीय व्यवसायीले भने मनपरी मूल्य असुल गरिरहेको पाईएको छ ।

सबैभन्दा बढी मूल्यवृद्धि कुखुरा र खसीको मासुमा गरिएको स्थानीयले गुनासो गरेका छन् । एक महिना पहिलेसम्म ३०० रुपियाँ किलोमा पाइने कुखुराको मासुमा अत्यधिक मूल्य वृद्धि गरेर अहिले ४०० देखि ४५० रुपियाँ किलोसम्म बिक्री गरिरहेको नेपालगञ्ज ११ का समद सिद्दिकीले गुनासो गर्नुभयो ।

उहाँले व्यवसायीले हरेक साता जसो मूल्य बढाएर मासु बिक्री गरिरहेको जनाउँदै महिनादिन पहिले ३०० रुपियाँमा पाइने कुखुराको मासुलाई ३५०, ३७५, ४०० गर्दै अहिले ४५० रुपियाँ किलोमा बिक्री गरिरहेको बताउनुभयाे । वडा नम्बर ११ स्थित इदगाहरोडमा रहेको पसलहरूमा सो दरभाउमा मासु बिक्री भैरहेको पाईएको छ । सोही प्रकारले एक महिना पहिलेसम्म ८०० रुपियाँ किलोमा पाइने खसीको मासु अहिले ९५० देखि हजार रुपियाँ किलोसम्ममा बिक्री गरिरहेको सिद्दिकीले बताउनुभयो ।

यसैगरि चामल, दाल, खानेतेल र तरकारीमा समेत मनपरी मूल्यवृद्धि गरिएको पाईएको नेपपालगञ्ज धम्बोझीका अर्का स्थानीय रवि श्रेष्ठले बताउनुभयाे । जसले जतिमा मन लाग्छ बिक्री गरिरहेको छ, रोक्ने र नियन्त्रण गर्नेतर्फ कसैले चासो नदेखाएको उहाँले बताउनुभयो ।

बन्दाबन्दीको बहानामा बजारमा हरेक बस्तुको मूल्य मनपरी तरिकाले वृद्धि गरिएको पाइएको उपभोक्ता मञ्च बाँकेका संयोजक बसन्त गौतमले बताउनुभयाे । उहाँले जताततैबाट मूल्यवृद्धि गरिएको र कालोबजारी भैरहेको जानकारीहरू आइरहेको बताउनुभयो । स्थानीय प्रशासनसँग बजार अनुगमनका लागि माग गरिएको पनि उहाँले बताउनुभयाे ।

केही दिनअघि गरिएको बजार अनुगमनका क्रममा नेपालगञ्जका तीनवटा औषधि व्यवसायीलाई मनपरी मूल्यवृद्धि गरेकोमा २–२ लाख जरिवाना गरिएको थियो भने महँगोमा धानको बीउ बिक्री गर्ने एक एग्रोभेटलाई पनि २ लाख रुपियाँ जरिवाना गरिएको थियो । यस्तै मूल्यसूचि नराख्ने र मूल्यमा एकरुपता नगर्ने एक हार्डवेयरलाई ६० हजार र बासी खान अयोग्य कुखुराको मासु बिक्री गर्ने सगरमाथा पोल्टरी सप्लायर्सलाई २० हजार रुपियाँ जरिवाना गरिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले अब जिल्लामा मूल्य वृद्धि, कालो बजारी र तस्करी हुन नपाउने जनाउँदै यस्तो अवैध काम गर्ने सबै कारवाहीमा पर्ने बताउनुभयाे । उहाँले वाणिज्य कार्यालयलाई निरन्तर अनुगमनका लागि निर्देशन दिईसकिएको जनाउँदै परिणाम पनि छिटै आउने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?