लक्ष्मण पौडेल
भैरहवा, जेठ २६ गते । भारतका विभिन्न शहरबाट आएर भैरहवा नमुना माविको क्वारेन्टाइनमा बसेका महिला तथा किशोरीहरूलाई नमूना एकीकृत विकास परिषद रुपन्देहीले मर्यादा किट वितरण गरेको छ । यो क्वारेन्टाइनमा रुपन्देहीसहित सुनसरी, ललितपुर, ताप्लेजुङ लगायत जिल्लाका महिला तथा पुरुष छन् ।
प्रदेश ५ सरकार सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको समन्वयमा नमुनाले क्वारेन्टाइनमा रहेका १४ महिला र छ किशोरी गरी २० जनालाई मर्यादा किट वितरण गरेको अध्यक्ष ज्ञानु पौड्यालले बताउनुभयो ।
क्वारेन्टाइनमा भएका महिलालाई सरसफाईमा प्रयाप्त ध्यान दिने कार्यमा सहयोग पुर्याउनुका साथै उनीहरूको आत्मबल वृद्धिका लागि मर्यादा किट वितरण गरिएको पौड्यालले बताउनुभयो ।
वितरण गरिएको मर्यादा किटमा महिलाहरूको आवश्यक सामग्री साडी, ब्लाउज, पेटीकोट, स्यानिटरी प्याड, नुहाउने साबुन, मञ्जन, ब्रस, काइँयो, टर्च, लुगा धुने सर्फ, अन्डरगार्मेन्ट लगायतका सामग्रीहरू छन् ।
केही दिनअघि नमूनाले रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको क्वारेन्टाइनमा रहेका महिला र किशोरीलाई पनि मर्यादा किट उपलब्ध गराएको थियो ।