देवराम प्रसाद यादव
सप्तरी, जेठ २७ गते । सप्तरी जिल्लाको विभिन्न स्थानीय तहहरूमा काेराेना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा राजविराज सहितका हाट, बजारहरू पूर्ण रुपमा खुल्न थालेका छन् । त्यहाँ क्रेता र बिक्रेताबिच सामाजिक दूरी कायम गर्नु अनिवार्य रहेपनि सामाजिक दूरी कायम भएकाे छैन ।
हाट, बजारहरूमा खाद्यान्न गायत अत्यावश्यक बाहेकका पसलहरू खुल्न थालेपछि लकडाउनले आजित बनेका सर्वसाधारणको चहलपहल ह्वात्तै बढेको हो । विगत तीन दिनयताको राजविराजसहित सप्तरीका अन्य हाट, बजार क्षेत्रको दृश्य झट्ट हेर्दा लाग्छ कुनै पर्व त्योहार मनाइँदैछ । सप्तरीको विभिन्न हाट, बजारका सम्पूर्ण पसलहरू पूर्ण रुपमा खुलेका छन् भने गुदरी हाटमा समेत खुद्रा पसलेहरूको व्यापक भिड लाग्ने गरेको छ ।
कोरोनाबाट जोगिनका लागि मुखमा अनिवार्य रुपमा मास्कको प्रयोग, कम्तिमी एक मिटरको सामाजिक दूरी कायम हुनुपर्ने, स्यानिटाइजरको प्रयोग, पसलेहरूले आफ्नो सुरक्षाका लागि ग्लोभ्सको प्रयोग लगायतका अति आवश्यक सावधानीहरू अपनाउनुपर्नेमा त्यस्तो कुनै सावधानी अपाइएको छैन ।
निर्बाध रुपमा सामानहरू खरिदबिक्री भइरहेका छन् । केही पसलेहरूले मास्क पनि लगाएका छैनन् । केहीले मास्क लगाए पनि मुख तल झारेर अड्काएका छन् । ग्राहकहरू समेत मास्कको महत्व नबुझेर हो वा बुझेर पनि अँटेर गरेर खुल्ला हातले एकदमै नजिक भएर सामानहरू किनबेच गरिरहेका छन् । पैसा लेनदेन गर्दा सामान्य दूरीसम्म कायम नभएको स्थानीय बताउँछन् । खुल्ला हातले पैसा लेनदेन गर्दा सङ्क्रमणको जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।
यता कपडा, मोबाइल, कस्मेटिकलगायत पसलहरूमा समेत व्यापक भिड बढेको छ । लकडाउन खुल्ला भएको भनी खबर फैलिएसँग ग्रामीण क्षेत्रहरूबाट हुलका हुल हाट, बजारहरूमा रुपमा आउन थालेका छन् ।
लकडाउन पालना गराउन सक्रिय रहने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको समेत बजारमा उपस्थिति शुन्य जस्तै भएको छ । प्रहरी टोलीसमेत लकडाउन पालना गराउन ननिस्किएका कारण सामान्य अवस्था जस्तै हाट, बजारमा भिडभाड बढेको छ ।
एकातर्फ जिल्लामा तीव्र रुपमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जानु र अर्कोतर्फ बजारमा लकडाउनको सामान्य नियमसम्म पालना नगरी व्यापक भिडभाड बढ्नु अनि सुरक्षा निकाय समेत मौन देखिनु गम्भीर चिन्ताको विषय भएको नागरिक सञ्चाल सप्तरीका अध्यक्ष सुखराम यादव बताउँछन् । राजविराज लगायतका हाट, बजार क्षेत्रहरूको भद्रगोल अवस्थाले सङ्क्रमणको जोखिम बढाएकोले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने उहाँको सुझाव छ ।
यसैबिच, सप्तरी जिल्लाको राजविराजलगायतका हाट, बजारहरू पूर्ण रुपमा खुल्ला भए पनि सप्तरी प्रशासनले खासै प्रतिक्रिया देखाएको छैन । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले लकडाउन खुल्ला नगरिएको बताउनुभएकाे छ । ‘औपचारिक रुपमा लकडाउन खुल्ला गरिएको छैन, नियमविपरीत पसलहरू खुलिरहेका छन्, व्यापक भिडभाड बढेको तथा सावधानीसम्म नअपनाउनेलाई नियमानुसार कारबाही गरिनेछ ।' उहाँले भन्नुभयाे ।