logo
२०८१ मंसिर १३ बिहीवार



बाँकेको जानकी गाउँपालिकाको आइसोलेसन सेन्टरबाट एक सङ्क्रमित भागे

प्रदेश |


बाँकेको जानकी गाउँपालिकाको आइसोलेसन सेन्टरबाट एक सङ्क्रमित भागे


सिराज खान\गोविन्द शर्मा
नेपालगञ्ज, जेठ २७ गते । बाँकेको जानकी गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट एक कोरोना सङ्क्रमित व्यक्ति फरार भएका छन् ।
जानकी गाउँपालिका  वडा नं. १ श्री माध्यमिक विद्यालय जोगागाउँ आइसोलेसन सेन्टरमा बसेका नेपालगञ्ज उपमहानगरपालिका १२ कोरियनपुर निवासी ३५ वर्षका सङ्क्रमित व्यक्ति फरार भएका हुन् ।

उनको खोजीको लागि अहिले व्यापक मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी भारततिर भागेको अनुमान सङ्क्रमितका परिवारले गरेको प्रहरीले जनाएको छ ।
ती सङ्क्रमित व्यक्ति आइसोलेसन सेन्टरबाट फरार भएको भनि मङ्गलबार जानकारी गराइएपनि उनी चार दिनअघि नै भागेको जानकारी पाएको टोलवासीले जनाएका छन् ।  फरार व्यक्ति लकडाउन शुरु हुँदा भारतको दिल्लीमा रहेको परिवारिक श्रोतले जानकारी दिएको थियो । भारतबाट फर्किएपछि ईद मनाउन ससुराली भारतको नानपारा जान लागेको बेला रुपैडिहाको एक मेडिकलमा लागुपदार्थ ट्याबलेट किन्ने बेलामा भारतीय प्रहरीले पक्राउ गरेर छोडेको र नेपाल प्रवेश गर्ने क्रममा नेपाल प्रहरीले समातेर उनलाई कोरेन्टाइनमा राखेको थियो ।
ती फरार व्यक्तिसँग सम्पर्कमा रहेकाहरू १० जनाको सोमबार मात्र स्वाब लिइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उनी एक महिनाअघि नेपाल आएर नेपालगञ्ज १२ स्थित कोरियनपुर आफ्नो घरमा बसेका थिए ।

दश दिन क्वारेन्टाइनमा बसेका फरार व्यक्तिलाई चार दिनअघि कोरोना पुष्टि भएकाे थियो । उनको घर जानकी गाउँपालिकामा समेत रहेकोले उनलाई जानकीको क्वारेन्टाइनमा राखिएको थियो ।
सोही क्वारेन्टाइनमै रहँदा उनलाई सङ्क्रमण पुष्टि भएपछि जानकी गाउँपालिका - १ को श्री माध्यमिक विद्यालय जोगागाउँ आइसोलेसन सेन्टरमा राखिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?