चाँदनी आचार्य
लम्की, जेठ २८ गते । करिब एक महिनादेखि खुला भएका सुदूरपश्चिमका विभिन्न नाकाबाट रोजगारीका लागि भारत गएका र लकडाउनमा परेका नेपाली आउने क्रम घट्दैगएको छ । बुधबार सुदूपश्चिमका दुई मुख्य नाकाबाट एक हजार ५३९ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने ४४१ भारतीय नागरिक बाहिरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बुधबार गड्डाचौकी नाकाबाट ४८८ नेपाली नागरिक भित्रिएका छन् भने ५२ जना भारतीय नागरिक बाहिरिएका छन् । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको सङ्ख्या मङ्गलबारको तुलनामा आधा घटेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक प्रतिक विष्टका अनुसार उक्त नाकाबाट बुधबार एक हजार ५१ जना नेपाली नागरिक भित्रिएका छन् भने ३८९ भारतीय नागरिक बाहिरिएका छन् ।
योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ यता करिब एक लाख पाँच हजार हाराहारीमा नेपाली नागरिक नेपाल भित्रिएका छन् भने बाहिरिनेको सङ्ख्या करिब १४ हजार पुगेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालयले फागुन २३ यता सुदूरपश्चिम प्रदेशका चार मुख्य नाकाबाट भित्रिने नेपालीको तथ्याङ्क अभिलेख गरेको जनाएको छ । सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले फागुनयता सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट दुई लाख ६५ हजार बढी नागरिक भित्रिएको जानकारी गराउँदै अझै ४० हजार बढी मानिस भित्रिने अनुमान रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘हामीले स्थानीय तहलाई भारतमा तथा अन्य देश रहेका नेपालीको तथ्याङ्क पठाउन पत्राचार गरेका थियौँ । कसैले पठाउनुभयो, कसैले पठाउनुभएको छैन त्यसैले यकिन तथ्याङ्क छैन ।’ मन्त्री सुबेदीका अनुसार सुदूरपश्चिमका झुलाघाट,धार्चुला, गड्डाचौकी र गौरीफन्टा नाकाबाट फागुन २३ देखि चैत्र ९ गतेसम्म एक लाख ४३ हजार ३२५ नेपाली भित्रिएका छन् । त्यसैगरी, चैत्र १० र ११ गते उक्त नाकाबाट १६ हजार बढी नेपाली भित्रिएका छन् ।
मन्त्री सुवेदीले लकडाउन अवधिमा एक लाख २५ हजार बढी नेपाली भित्रिएको जानकारी दिनुभयो । जेठ ६ गतेसम्म नेपाल भित्रिने नेपाली नागरिकको सीमामै आरडीटी परीक्षण गरी पठाउने व्यवस्था गरिएको भएपनि दैनिक आउनेकाे सङ्ख्या बढ्दै गएपछि परीक्षण नगरी पठाइएको मन्त्री सुवेदीले बताउनुभयो ।