अर्जुन काफ्ले
स्याङ्जा, जेठ २९ गते । भिरकोट नगरपालिका–१ को कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका दुई जनालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ ।
वालिङ नगरपालिका-१३ का ३२ वर्षीय र ५४ वर्षीय पुरुषलाई पोखरा लागिएको प्रजिअ गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
पोखरा लगिएको दुई जना बाबु-छोरा हुन् । छोराको स्वास्थ्यमा समस्या आएपछि बाबुलाई पनि छोरोको साथीको लागि पोखरा लगिएको कोरोना फोकल पर्सन डा. अन्जु अर्यालले जनाकारी दिनुभयो । थप स्वास्थ्य समस्या देखिएमा भेन्टिलेटरमा राखेर उपचार गर्ने गरी पोखरा लगिएको डा. अर्यालले बताउनुभयो ।
जेठ १२ गते भारतबाट आएका उनीहरूको स्वाब परीक्षणमा जेठ २४ गते काेराेना पोजिटिभ भेटिएको थियो । कालिका अस्पतालको आइसोलेसनमा अहिले एक महिलासहित २९ जना उपचाररत रहेका छन् भने जिल्ला अस्पतालको आइसोलेसनमा तीन जना उपचाररत छन् ।
जिल्लामा ३८ जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जना कोरोना जितेर घर फर्केका छन् ।
३४५ को नजिता आउन बाँकी
कोरोनाको महामारी फैलिरहँदा स्याङ्जामा एकै दिन १४९ जनाको स्वाब सङ्कलन गरिएको छ । पछिल्लो क्रममा जिल्लामा भारतबाट आउनेमा सक्रमितको सङ्ख्या बढेपछि स्वाब लिनेको दायरा बढाइएको हो ।
जिल्लामा एक जनाको कोरोना सक्रमणबाट निधन भइसकेको र सङ्क्रमित बढ्दो क्रममा रहेकाले स्वाब लिएर पीसीआर परीक्षणको दायरा बढाइएको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।
जिल्लाको अर्जुन चौपारीमा १०७, गल्याङमा २० र कालीगण्डकीमा २२ गरी १४९ जनाको स्वाब सङ्कलन गरिएको शर्माले बताउनुभयो । आरडीटी विधिबाट कोरोना परीक्षण भदपर्दो नभएको भन्दै चौतर्फी विरोध भइरहेका बेला स्याङ्जामा भने पीसीआर विधिलाई नै प्राथामिकता दिइएको हो ।
जिल्लाभर अहिलेसम्म ८५१ जनाको पीसीआर परीक्षणको लागि स्वाब लिइएकोमध्ये ५०६ जनाको नजिता आएको छ भने नयाँबाहेक गल्याङका ४८, वालिङका ५५, पुतलीबजाका ३३, आँधीखोला गाउँपालिकाका १५, अर्जुनचौपारीका १२, कालीगण्डकीका २२, फेदीखोलाका पाँच, बिरुवाका ६ सहित ३४५ जनाको नतिजा आउन बाँकी रहेको शर्माले बताउनुभयो । नजिता आउन लामो समय पर्खिनुपर्ने गुनासो आइरहेका बेला गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले भने अब २४ सै घण्टा परीक्षण हुने दाबी गरेको छ ।
निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले अहिले दैनिक १८ परीक्षण गरिएकोमा अब २४ सै घण्टा परीक्षण हुने बताउनुभयो । दैनिक २४० जनाको परिक्षण गरिएकोमा अब परीक्षणको दायरा बढेर दैनिक ३२० जनाको गरिने निर्देशक शर्माले बताउनुभयो ।
प्रदेशमा एउटै मात्रै पीसीआर मेसिन हुँदा र जनशक्तिको समेत अभावले परीक्षण बढाउन नसकिएको भन्दै दुई वटा मेसिन थप भएपछि अझै परीक्षण बढाइने बताउनुभयो ।
त्यस्तै, स्याङ्जामा १३६२ जनाको आरडीटी विधिबाट समेत कोरोना परीक्षण गरिएको छ । अहिले जिल्लाभर क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ९०७ पुगेको छ ।