logo
२०८१ मंसिर १३ बिहीवार



उदयपुरमा थप चार जनामा कोरोना पुष्टि

प्रदेश |


उदयपुरमा थप चार जनामा कोरोना पुष्टि


गाईघाट समाचारदाता
गाईघाट,जेठ २९ गते । उदयपुरमा थप चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ र विराटनगर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट बुधबार एकै दिन थप चार जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय, उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो ।

योसँगै उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० पुगेको छ भने उपचार पछि निको भएर घर फर्कनेको सङ्ख्या ३३ पुगेको छ । पछिल्लो पटक गरिएको परीक्षणमा उदयपुरगढी गाउँपालिका वडा नं. ५ का २५ वर्षीय पुरुष, कटारी नगरपालिका वडा नं १३ का २६ वर्षीय पुरुष, त्रियुगा नगरपालिकाका वडा नं १० का एकै परिवारका दुई दिदी र भाइ २६ वर्षीया महिला र १९ वर्षका पुरुषमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

सङ्क्रमित सबै जना भारतबाट हालै घर फर्किएका र सम्बन्धित पालिकाहरूले नेपाल भित्रिए लगत्तै क्वारेन्टाइनमा ल्याएर राखेका व्यक्तिहरू भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी बताउनुभयो ।

सङ्क्रमितहरू त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगढा, उदयपुरगढी र कटारी नगरपालिका -१, बेलस्रोतस्थित नेपाली सेनाको रणसार्दुल गणको क्वारेन्टाइनमा बस्दैआएको र हालसम्म त्रियुगा नगरपालिकामा ३५ जना, बेलका नगरपालिकामा २, चौदण्डीगढी, कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा १/१ जना गरी ४० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयले नमूना सङ्कलनलाई तीव्रता दिएको र पीसीआर परीक्षणको पछिल्लो रिपोर्टका आधारमा अहिलेसम्मको स्थिति हेर्दा अब उदयपुरमा क्वारेन्टाइनभित्र मात्रै कोरोना सीमित हुन पुगेको स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?