अविनाश चौधरी
धनगढी, जेठ २९ गते । कोरोना भाइरसको सङ्क्रमित थपिँदै गएपछि कैलालीको छ वटा स्थानीय तहले मिलेर ३० शय्याको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएका छन् । टीकापुर, लम्कीचुहा, भजनी नगरपालिका तथा जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकाले मिलेर आइसोलेसन कक्ष सञ्चालनमा ल्याएका हुन् । टीकापुरस्थित सिटी हलमा आइसोलेसन कक्ष स्थापना गरिएको हो ।
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने यी स्थानीय तहहरूमा पछिल्लो समय सङ्क्रमित थपिँदै गएका छन् । सङ्क्रमित थपिँदै जाँदा उनीहरूलाई छुट्ट्रै राख्न समस्या भएकाले संयुक्त पहल गरेर सिटी हलमा आइसोलेसन कक्ष स्थापना गरिएको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो । उहाँले जनशक्ति व्यवस्थापनदेखि आर्थिक व्यवभारको जिम्मा स्थानीय तहरूरुले नै लिएको उल्लेख गर्नुभयो ।
टीकापुर अस्पतालमा जम्मा १२ वटा मात्रै आइसोलेन कक्ष छन् । अस्पतालको आइसोलेन कक्ष सङ्क्रमितले भरिएपछि थपिएका सङ्क्रमितलाई क्वारेन्टाइनमै राख्नुपर्ने परिस्थिति सिर्जना भएको थियो । यसले झनै समस्या बल्झिने खतरा बढेपछि केही दिनअघि बसेको स्थानीय तहहरूको समन्वय बैठकले संयुक्त लगानी गरेर सिटी हलमा आइसोलेसन कक्ष स्थापना गर्ने निर्णय गरेको थियो ।
सिटी हलमा निर्माण गरिएको आइसोलेसन कक्ष टीकापुर अस्पतालको मातहतमा रहने बताइएको छ । योसँगै कैलालीमा आइसोलेसन बेड सङ्ख्या १२५ पुगेको छ । सेती प्रादेशिक अस्पतालमा ७२, टीकापुर अस्पतालमा १२, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा चार र चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच वटा आइसोलेसन बेड छन् ।