डिलबहादुर सिंह
डोटी, जेठ २९ गते । जिल्ला अस्पताल डोटीमा कोरोना सङ्क्रमणका कारण उपचाररत डोटीको शिखर नगरपालिका–३ का २५ वर्षीय युवक डिस्चार्ज हुनुभएकाे छ । डोटीको पहिलो कोरोना सङ्क्रमित युवकलाई जिल्ला अस्पताल डोटीको आइसोलेसनमा १५ दिन सम्म राख्दासमेत कोरोना सङ्क्रमणको कुनै पनि लक्षण नदेखिँदा आज डिस्चार्ज गरिएकाे हो ।
भारतबाट फर्किएर शिखर नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्दैआउनुभएका उहाँ छोराको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल डोटी आएका थिए । जिल्ला अस्पताल डोटीले सङ्कलन गरेको ‘थ्रोट स्वाब’ परीक्षण गर्दा उहाँलाइ कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सँगै आएका छोरा र श्रीमतीको नतिजा भने नेगेटिङ देखाएको थियो । छोरा र श्रीमतीमा दोस्रो पटक पनि परीक्षण गर्दा नेगेटिभ आएपछि उनीहरूलाई यसअघि नै अस्पतालले डिस्चार्ज गरिसकेको छ ।
पन्ध्र दिनसम्म पनि सङ्क्रमणको पुष्टिपछि कुनै लक्षण नदेखिएकोले ‘आइसोलेसन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘१५ दिन अगाडीको थ्रोट स्वाब सङ्कलनमा नतिजा पोजिटिभ देखिएपनि त्यसयता कुनै लक्षण देखिएन,’ अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति उत्तम उपाध्यायले भन्नुभयो, ‘पन्ध्र दिनसम्म राख्दासमेत उनको कुनै लक्षण नदेखिएपछि निर्देशिकामा भएको व्यवस्थाबमोजिम डिस्चार्ज गरेका छौँ ।’
डोटीमा थप पाँच जना अन्य व्यक्तिहरू सङ्क्रमित छन् । जसमध्ये पूर्वीचौकी गाउँपालिका–७ का २५ र २३ वर्षीय सङ्क्रमित जिल्ला अस्पतालको आइसोलेसनमा रहेका छन् । सोही गाउँपालिका अन्य तीनजना गाउँकै क्वारेन्टाइनमा आइसोलेट गरिएको छ । चार जना डोटीका सङ्क्रमित कैलालीको आइसोलेसनमा छन ।