logo
२०८१ मंसिर १३ बिहीवार



जुम्लाका स्थानीय तह बालबालिकाको अधिकारप्रति सचेत

प्रदेश |


जुम्लाका स्थानीय तह बालबालिकाको अधिकारप्रति सचेत


नेत्र शाही
जुम्ला, जेठ ३० गते । लकडाउनमा घरमै बसेका बालबालिकाहरू कस्तो अवस्थामा छन् ? उनीहरूको शैक्षिक, सिर्जनात्मक ज्ञानदेखि अन्य अवस्था कस्तो छ ? के हामीले ध्यानदिइरहेका छौँ ?
जुम्लामा सरोकारवाला निकायहरूले लकडाउनको बीचमा भएको अनुभवले बालबालिकाको दीर्घकालीन अवस्थाको बारेमा सोचनीय बनाएको बताएका छन् । उनीहरूले योजना बनाएर अगाडि बढ्नेसमेत साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र ( किर्डाक) नेपालद्वारा आयोजित जुम्लाका स्थानीय तह र सरोकारवालासँगको “बाल संरक्षण कचहरी” नामक भर्चुअल बैठकमा जिल्लामा लकडाउनको अवधिमा बालबालिकाहरूको अवस्थाको बारेमा वृहत बहससहित सुझाव सङ्कलन गरिएको हो ।

कोभिड १९ (कोरोना भाइरस) का बीचमा बालबालिकाहरूलाई शिक्षासहित विभिन्न अधिकार र उनीहरूको भविष्यका लागि योजना बनाएर अगाडि बढ्नेमा सबैको जोड रहेको छ ।
बाल कचहरीमा धेरैजसो सरोकारवाला निकायहरूले अहिले बालबालिकाको अवस्थामा ध्यान नगएको भन्दै नयाँ योजना र कामको थालनी गर्नेमा जोड दिएका छन् ।
जिल्लाको तीला गाउँपालिका अध्यक्ष रतननाथ योगीले लकडाउनले बालबालिकाहरूलाई कस्तो नीति र बजेट ल्याउँदा ठिक होला भन्ने विषयमा सोचनीय बनाएकाले आगामी स्थानीय सरकारको बजेटमा सो विषयलाई बढी जोड दिने बताउनुभयो ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले बालबालिकालाई समेटेर बजेट बनाउने बताउनुभयो ।  हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले हिमा गाउँपालिकाले बालसंरक्षण नीति बनाएको जानकारी दिनुभयो । उहाँले सो नीति कार्यान्वयन गर्न आगामी दिनमा बजेट कार्यान्वयन गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।

पूर्व बालकल्याण समितिका अध्यक्ष तथा नेकपाका नेता पूर्णप्रसाद धितालले लकडाउनले गाउँका बालबालिकाहरू कृषिमा व्यस्त भए पनि शहरका बालबालिकाहरू मोबाईल, टिभीले बिगारेकोमा चिन्ता गर्नुभयो । उहाँले सोही अनुसारको सरकारले आगामी दिनमा योजना बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

बाल कचहरी बैठकमा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले लकडाउनमा घरेलु हिंसाका घटना कम भएको र बालबालिका हराएका घटनाहरूरु बढी दर्ता भएकाे जानकारी दिनुभयो । उहाँले यस बेला बालबालिकाका आत्महत्याका घटना भइरहेकाले अभिभावकलाई आफ्ना बालबालिका के गरिरहेका छन् ? हेक्का राख्न अनुरोध गर्नुभयो ।

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र ( किडार्क ) नेपालका केन्द्रीय निर्देशक गोविन्दबहादुर शाहीले अहिलेको अवस्थामा बालबालिका र महिला जोखिममा रहेकाे बताउनुभयाे । अहिले कोभिड-१९ (कोरोना भाइरस) का कारण शिक्षण संस्थासमेत ठप्प छन् । धेरैजसो विद्यालय अहिले क्वारेन्टाइन बनाइएका छन् । यस्ताे अवस्थामा बालबालिकाकाे शिक्षा, सुरक्षा तथा भविष्य सबैकाे चासाेकाे विषय बन्नुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?