नागेन्द्रकुमार कर्ण
जलेश्वर, जेठ ३० गते । महोत्तरी जिल्लामा कोरोना पोजिटिभको सङ्ख्या बढे पनि कोरोना जितेर फर्कनेहरूको सङ्ख्यासमेत वृद्धि भएको छ । जलेश्वर अस्पतालको आइसोलेसनमा रहेका १९ जना कोरोना जितेर घर फर्किनुभएको जलेश्वर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेयले बताउनुभयो । उहाँले बुधबार तीन जना र बिहीबार १६ जना गरी १९ जनालाई सरकारको स्वास्थ्य निर्देशिकाले तोके अनुसार डिष्चार्ज गरिएको बताउनुभयो । उहाँले शुक्रबार पनि दुई जनालाई डिस्चार्ज गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय, महोत्तरीका फोकल पर्सन गिरेन्द्रकुमार झाले भने जिल्ला बाहिरको आइसोलेसनमा रहेका चार जना महोत्तरीवासी पनि कोरोना जितेर घर फर्किनुभएको बताउनुभयो । महोत्तरीमा आइसोलेसन नभएको बेला जनकपुरको आइसोलेसनमा रहेका दुई जना तथा जलेश्वरबाट काठमाण्डौँ गएर आइसोलेसनमा बसेका दुई जना गरी अहिलेसम्म जिल्लामा २३ जना कोरोना जितेर फर्किनुभएको जानकारी दिनुभयो ।
महोत्तरी जिल्लामा आइसोलेसनको अभावमा कतिपय पीसीआर पोजिटिभहरू क्वारेन्टाइनमै बस्नुपरिरहेको बताउनुहुँदै उहाँले सरकारको स्वास्थ्यसम्बन्धी निर्देशिका अनुसार केही दिन भित्रै डिस्चार्ज हुनेको सङ्ख्या बढ्ने बताउनुभयो । यसले एकातर्फ जिल्लावासीमा यो रोगबारे जनचेतना बढ्नुका साथै केही डरसमेत हट्ने उहाँले बताउनुभयो ।
महोत्तरी जिल्लामा पिपरा र बर्दिबासमा आइसोलेसन बनाउन आफुहरू लागिपरेको जानकारी दिँदै उहाँले चाँडै नै दुवै ठाउँमा व्यवस्थित आइसोलेसन बन्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
अहिलेसम्म जिल्लामा १७३ जना पीसीआर पोजिटिभ रहेका छन् । जसमध्ये ७९ जना जलेश्वर आइसोलेसनमा छन् भने अरु विभिन्न क्वारेन्टाइनमा रहेका छन् ।