logo
२०८१ मंसिर १३ बिहीवार



नरैनापुरका कोरोना सङ्क्रमितलगायत ४३९ विपन्न परिवारलाई राहत वितरण

प्रदेश |


नरैनापुरका कोरोना सङ्क्रमितलगायत  ४३९  विपन्न परिवारलाई राहत वितरण


सिराज खान/गोविन्द शर्मा
नेपालगञ्ज, जेठ ३० गते । नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेषकुमार कनोडियाको अगुवाई र फिल द बकेट अभियानको नेतृत्वमा बाँकेको सबैभन्दा बढी कोरोना प्रभावित नरैनापुर गाउँपालिकाका ४३९ विपन्न र पीडित परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ ।

कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित देखिएको नरैनापुर गाउँपालिकाका विभिन्न स्थानका अतिविपन्न र कोरोना सङ्क्रमित परिवारका गरेर ४३९ परिवारलाई गाउँमै पुगेर खाद्यान्न राहत वितरण गरिएको मेडिकल कलेजका सहायक निर्देशक डा.कनोडियाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँके, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र नरैनापुर गाउँपालिकाको विशेष समन्वयमा राहत वितरण गरिएको उहाँले बताउनुभयो ।  डा. कनोडियाका अनुसार नरैनापुर गाउँपालिका वडा नं. ५ भगवानपुर नयाँबस्तीका २०० परिवार, वडा नं. ४ दौलतपुरका २८ परिवार, वडा नं. १ बिर्ताका ४१ परिवार, वडा नं. ५ मोतीपुरका १३ परिवार, वडा नं. ४ घुरदौरियाका ९१ परिवार र वडा नं. ६ सोनवर्षा नयाबस्तीका ५७ परिवार गरी जम्मा ४३० परिवारलाई उनीहरूकै वडामा पुगेर राहत वितरण गरिएको छ ।

वितरण गरिएको राहतमा प्रतिपरिवार २० किलो चामल, तीन किलो दाल, तीन किलो चना, एक किलो नुन र दुईवटा साबुन छन् । वितरण कार्यमा नेपालगञ्ज मेडिकल कलेज, इन्सेक प्रदेश कार्यालय, लायन्स क्लब अफ नेपालगञ्ज, पीएनएलएफ, एफडब्लुएलडीलगायतले फिल द बकेट अभियानलाई सहयोग गरेको डा. कनोडियाले बताउनुभयो ।

कोरोनाको सङ्क्रमणबाट धेरै जना पीडित रहेको गाउँपालिकामा आएर विपन्न र पीडित परिवारलाई राहत वितरण गरिदिनु भएकोमा फिल द बकेट अभियानप्रति आभार व्यक्त गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले राहतले स्थानीयलाई धेरै सहयोग पुग्ने बताउनुभयो ।

इन्सेक प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख भोला महतले नरैनापुरका पीडितलाई राहत वितरण गरेर अति नै सराहनीय कार्य गरिएको बताउँदै यसले उनीहरूलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि फिल द बकेट अभियानले भारतबाट नेपाल फर्किरहेका करिब २७ हजार नागरिकहरूलाई बाँकेको नेपालगञ्ज र कैलालीको गौरीफन्टा नाकामा खाजा, खाना र पानी वितरण गरेको थियो । अभियानले यसअघि पनि भुकम्प, बाढी र अन्य विपत्तीको बेलामा सहयोग आवश्यक परेका नागरिकलाई सहयोग गर्दैआएको छ ।

कोरोनाले मृत्यु भएका युवकको घर बनाउन एक लाख सहयोग घोषणा
राहात वितरणका लागि नरैनापुर पुग्नुभएका नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा. कनोडियाले कोरोनाका कारण मृत्यु भएका नयाँबस्तीका युवकको घर बनाउन एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

डा. कनोडियाले नयाँबस्ती पुगेर मृतकको फुसले बनेको घर देखेपछि साे घरलाई पक्की बनाउनका लागि आफूले एक लाख रुपियाँ दिने घोषणा गर्नुभयो । उहाँले सो कार्यमा अरुलाई पनि सहयोग गर्न आग्रह गर्दै सबैले मिलेर सहयोग गर्ने हो भने छिटै घर निर्माण गर्न सकिने बताउनुभएको छ ।

गाउँपालिकाले पनि उहाँको घर बनाउनका लागि केही रकम छुट्याउने तयारी गरिरहेको अध्यक्ष शाहले बताउनुभयो । उहाँले मृतकको परिवार निकै विपन्न रहेकोले काजक्रियाका लागि गाउँपालिकाबाट तत्काल ५० हजार रुपैयाँ दिन लागेकाे र आफूले पनि आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ सहयोग गर्न लागेको बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?