शिवराज ढुङ्गाना
अछाम, जेठ ३० गते । भारतलगायत बाहिरबाट आएर ढकारी गाउँपालिकामा एक हजार ८४० जना क्वारेन्टाइनमा छन् । आठ वडा रहेको गाउँपालिकाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा एक हजार ५४५ जना पुरुष २९५ महिला क्वारेन्टाइनमा रहेका छन् ।
क्वारेन्टाइनमा रहेकामध्ये सबैभन्दा बढी ढकारी गाउँपालिका–६, ढुङ्गाचाल्नामा ४२६ र वडा नंं. ४, बलातामा ११९ जना रहेको गाउँपालिकाको तथ्याङ्कमा रहेको छ । यस्तै, वडा नं. १ ढकारी २७९ जना, वडा नं २ मा १३० जना, वडा नं ३ मा २९६ जना, वडा नं ५ मा १३५ जना, वडा नं. ७ मा २४६ जना, र वडा नं. ८ मा २०४ जना रहेका छन् । अछामकै अन्य गाउँपालिका घर भएर ढकारी गाउँपालिका पुगेका छ जनालाई समेत क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिलाई १४ दिनपछि स्वास्थ्य परीक्षण गरेर घर पठाइने बताइएको छ । क्वारेन्टाइनमा रहेको समयमा खाना र खाजाको व्यवस्था गाउँपालिकाले गरेको छ ।
भवन अभावमा ढकारी गाउँपालिकाले आफ्नो क्षेत्रमा खाली रहेको निजी घरमा समेत क्वारेन्टाइन बनाएर राखेको बताइएको छ । “धमाधम मानिसहरू आइरहेका छन्, उनीहरूको व्यवस्थापनमै खटिएका छौँ ।” प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले भन्नुभयाे । गाउँपालिकाले क्वारेन्टाइनका लागि विद्यालयका भवनलाई उपयोग गरेको छ । क्वारेन्टाइनमा रहेका सबैको पीसीआर परीक्षणको अभावमा आरडीटी परीक्षण गरेर घर पठाउन थालिएको छ ।
गाउँमा अहिले पनि मानिसहरू बाहिरबाट आउने क्रम रोकिएको छैन । “आज मात्र दुई बस मानिस आएको खबर छ ” अधिकृत वलीले भन्नुभयो । बन्दाबन्दीमा भारतबाट अछाममा १२ हजार पाँच सय व्यक्ति आएकोमा त्यसको १५ प्रतिशत महिला रहेको जिल्ला प्रशासन कार्यालय अछामको तथ्याङ्क रहेको छ ।