भवानी ऐर
गोदावरी, जेठ ३० गते । कञ्चनपुरस्थित महाकाली अस्पतालमा कोभिड–१९का सङ्क्रमितको उपचारका लागि छुट्टै ५० शैयाको आइसोलेसन भवनको उद्घाटन गरिएकाे छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा महाकाली अस्पतालले निर्माण गरेको उक्त भवनको शुक्रबार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले आइसोलेसन भवन निर्माणसँगै कोरोनाका बिरामीलाई उपचारमा सहज हुने बताउनुभयो । महाकाली अस्पताललाई उप–प्रादेशिक अस्पतालका रुपमा स्तर वृद्धि गरिने बताउँदै मन्त्री सुवेदीले भन्नुभयो, ‘आउँदो बजेटमा सम्बोधन गछौँ ।’ कोरोना सङ्क्रमितलाई तिरस्कार गर्ने प्रवृति देखिएको भन्दै उच्च मनोबलका साथ उपचारमा खटिन मन्त्री सुवेदीले आग्रह गर्नुभयो ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले ५० बेडका नयाँ र यसअघिका ३६ बेड गरी अस्पतालमा जम्मा ८६ वेडको आइसोलेसन निर्माण गरिएको जानकारी दिँदै बहिरङ्ग र सुत्केरी वार्डहरू कोरोना सङ्क्रमणबाट छुट्टै रहेको बताउनुभयो ।
यस्तै, महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेड डा. हरिकुमार श्रेष्ठले अस्पतालमा कोरोना उपचारका लागि भवन निर्माणसँगै थप भौतिक संरचना निर्माण भईरहेको जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी ट्याङकीदेखि फार्मेसी सञ्चालन र थप व्यवस्थित बनाउनका लागि पर्खाल निर्माण हुनेछ ।
नवनिर्मित आइसोलेसन भवनमा चार कोठा, एक हल, एक नर्सिङ्ग र डाक्टर बस्ने कक्षलगायत निर्माण भएको छ । जम्मा ९२ लाख, ४३ हजार, पाँच सय रुपियाँ बजेटमा दिपिन बिल्डर्स प्रालिले एक महनिामै भवन निर्माण गरेको हो ।