चाँदनी आचार्य
लम्की, जेठ ३० गते । सुदूरपश्चिमका मुख्य दुई नाकाबाट शुक्रबार पनि एक हजार ५०२ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् भने ४७३ भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।
सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार शुक्रबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट ४४२ नेपाली भित्रिएका छन् भने १५४ भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।
त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट एक हजार साठी नेपाली भित्रिएका छन् भने ३१९ भारतीय बाहिरिएका छन् । भारतबाट नेपाली आउने क्रम दैनिक घट्दै गइरहेको छ । योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख आठ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या १५ हजार बढी पुगेको छ ।
सीमा प्रवेश गरेका नेपालीलाई विभिन्न जिल्लाका स्थानीय तहले सीमामै गाडी व्यवस्था गरी उद्धार गरी क्वारेन्टाइनमा राखिएकाे छ । भारतबाट दैनिक मानिस थपिँदै गएपछि स्थानीयले स्वास्थ्य मन्त्रालयको निर्देशनबमोजिम क्वारेन्टाइनमा १४ दिन बसेका र कुनै समस्या नदेखिएकालाई घर पठाउँदै अाएकाे छ ।