चाँदनी आचार्य
लम्की, जेठ ३१ गते । रोजगारीका लागि भारत गएका र लकडाउनमा परी अलपत्र परेका नेपाली नागरिक नेपाल फर्केसँगै उनीहरूमध्येमा कोरोना पाेजिटिभ देखिनथालेपछि सम्भावित सङ्ख्या वृद्धिलाई ख्याल गर्दै स्थानीय तहले आइसोलेसन व्यवस्थापन गर्न थालेका छन् ।
कैलालीका पूर्वी स्थानीय तहहरू टीकापुर, घोडाघोडी, गौरीगङ्गा र लम्कीचुहा, जानकी, जोशीपुर, बर्दगोरियालगायतका गाउँपालिका तथा नगरपालिका नेपाल सरकार स्वास्थ्य मन्त्रालयको पछिल्लो परिपत्र अनुसार आइसोलेसनको व्यवस्थापनमा जुटेका छन् ।
आरडीटी पाेजिटिभ देखिएका ६२ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाएको घोडाघोडी नगरपालिकाले घोडाघोडी क्याम्पसमा २० शय्याको आइसोलेसन वार्ड बनाएको छ । लम्की चुहा नगरपालिकाले वडा नं. १ लम्कीमा रहेको मुनवुन होटल प्रयोग गर्दै २५ शय्याको आइसोलेसन अस्थायी अस्पताल बनाएको छ । जानकी गाउँपालिकाले समेत २० शय्याको आइसोलेसन वार्डको तयारी गर्दै वडा नम्बर ८ मा रहेको सामुदायिक भवनमा सरसफाई गरी बेडसमेत राखिएको र स्वास्थ्यकर्मीलाई प्रशिक्षण गर्ने तयारीमा जुटेको जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले जानकी गाउँपालिकामा पीसीआर पाेजिटिभ देखिएका नौजना मध्ये छजना निको भएर घर गएको र तीनजना उपचारार्थ रहेको बताउनुभयो । उहाँले ३२ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाइएको जानकारी गराउँदै आरडीटी पाेजिटिभलाई मात्र गाउँपालिकाको आइसोलेसनमा राख्ने पीसीआर पाेजिटिभ भएकालाई टिकापुर अस्पताल पठाउने योजना रहेको बताउनुभयो ।
टीकापुर नगरपालिकाले टीकापुर अस्पतालका १२ शय्या अपुग भएपछि सेरोफेरोका स्थानीय तहको समन्वय र सहयोगमा सिटी हललाई प्रयोग गर्दै ५० शय्याको आइसोलेसन वार्ड व्यवस्थापनमा जुटेको छ ।
त्यसैगरी, गौरीगङ्गा नगरपालिकाले समेत ५० शय्याको आइसोलेसन अस्पताल निर्माणलाई तीव्रता दिएको छ । चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना चिकित्सकसहितको सेवा रहेको उक्त नगरपालिकाले अक्सिजन र नेबुलाईजर सेवासहितको ५० शय्याको आइसोलेसन अस्पताल बनाउने कार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य शाखा प्रमुख आशा दाहालले जनाउनुभयो ।
स्थानीय तहले तयार गरेका आइसोलेसनमा आरडीटी र पीसीआर पाेजिटिभ देखिएका तर कोरोनाको लक्षण नदेखिएकालाई राख्न मात्र व्यवस्था गरिएको जनाइएको छ । सामान्य रुघाखोकी, ज्वरो बाहेक जटिल अवस्थाका विरामी आइसोलेसनमा राख्न नसकिने स्वास्थ्य शाखा प्रमुखको भनाइ छ । गौरीगंगामा हाल १३ जना पीसीआर पाेजिटिभको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी, कैलालीको दक्षिण क्षेत्रको भारतीय सिमासँग जोडिएको भजनी नगरपालिकाले समेत मोहन्याल बहुमुखी क्याम्पसलाई आइसोलेसन वार्ड बनाउने तयारीमा जुटेको जनाएको छ ।