logo
२०८१ फाल्गुन १७ शनिवार

  पर्वत पहिरो अपडेट  



पाँच जनाको शव भेटियो, चार अझै बेपत्ता

प्रदेश |


पाँच जनाको शव भेटियो, चार अझै बेपत्ता


चन्द्रप्रकाश शर्मा
पोखरा, जेठ ३२ गते । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा गएराति गएको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ । शनिबार रातिको पहिरोमा पुरिएका नौ जनामध्ये राति नै तीन जनाको र आइतबार बिहान दुई जनाको शव भेटिएको थियो ।
स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोमा पुरिँदा नौ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएका तुलबहादुर थापाको घरमा पुरिएका थापासहित नीलकुमारी थापा, दीपा थापा र विविशा थापा र कमला विकको शव भेटिएको प्रहरीले जनाएको छ ।
कुश्मा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार बिहानसम्म पाँच जनाको शव भेटिएको र थापाको घरका दुई जना र विकको घरका दुई जना अहिले पनि बेपत्ता रहेका छन् । राति पनि भीषण वर्षा भएको र अँध्यारोका कारण खोजी कार्य गर्न कठिन भएकाले बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य जारी राखिएको अध्यक्ष पाध्याले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले राति दुई बजेसम्म खोजी गर्दा तीन जनाको र बिहान थप दुई जनाको शव भेटिएको र अन्यको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोली उद्धारमा खटिएको जानकारी दिनुभयो । स्थानीय सागर गिरीकाअनुसार पहिरो धेरै माथिको जङ्गलबाट खसेको थियो । घरदेखि माथि ठूला ठूला बारी तथा समथर खरबारी रहे पनि पाहिरोले सबै बगाएको छ । ‘पहिरो नै बगाउँने जस्तो भूगोल छैन, पहिरो सुरु भएको माथिल्लो भागमा पनि ठूला ठूला बारी छन्, तल पनि बारी तथा समथर खरबारी छ तर ती सबै बगाएर लगेको छ ।’ गिरीले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?