चाँदनी आचार्य
लम्की,जेठ ३२ गते । कैलाली र कञ्चनपुरका किसानलाई रोपाईको चटारो संगै चैते धान भित्र्याउन भ्याई नभ्याई भएकोछ । मनसुन लाग्ने समय भएकाले चैते धान भित्र्याउन किसनालाई चटारो परेको हो । कैलाली जिल्लाको सबैभन्दा बढी चैते धान लगाउने भजनी नगरपालिकाका किसान यती खेर पाकेको धान काट्ने मुठा बाँध्ने र थे्रसीङ गर्नमा ब्यस्त छन् । भजनी नगरपालिका १ का हेमेन्द्र भारद्वाजले यो बर्ष ३ विगाह खेतमा लगाएको चैतेधान भित्र्याउने चटारोमा रहेको बताउनुभयो ।
बर्खामा डुबान हुने वडा नम्बर ३ मा रहेको खेतमा हिउँदे बर्खाले गहुँखेती नोक्सान भएपछि चैते धान लगानु भएका हेमेन्द्रलाई अहिले धान भित्र्याउन भ्याई नभ्याइ भएको छ । खेतमै रहेका हेमेन्द्रले भन्नुभयो ‘ मनसुन शुरु भैसकेको छ पानी पर्ने ठेगान हुदैन पाकेको धान भित्र्याउन सबै विहान देखि साँझ सम्म खेतमै हुन्छौ , चैते धान लगाएका सबै धमाधम धान काट्ने र भित्र्याउने कार्यमा लागेका छौ ।’
हेमेन्द्र जस्तै चैतेधान लगाउने भजनी लगायत अन्यक्षेत्रका किसान यतीखेर पाकेको धान धमाधम भित्र्याउने कार्यमा लागेकाछन् । भजनीका अधिकाँश डुबान क्षेत्रमा बर्षेधान लगाउदैनन् । उक्त क्षेत्रमा चैतेधान लगाउने गरेकाछन् ।
भजनी नगरपालिका १,३,७ र ८ वडाका डुवान क्षेत्रमा रहेका करिब आठसय विगाह खेतहरुमा लगाइएको चैतेधान भित्रयाउन यतीखेर किसानहरु खेतमै देखिन्छन् । हुलाकी राजमार्ग आसपासका जमिनमा बर्षाको समयमा अत्याधिक पानी जम्ने भएपछि त्यस क्षेत्रका किसानले चैतेधान खेती लगाउने गरेका हुन्् ।
वडा नम्बर ३ का अध्यक्ष बिक्रम चौधरीले सबैभन्दा बढी आफ्नो वडामा चैतेधान लगाउने गरेको बताउनुभयो । उहाँले भजनीमा करिब आठसय विगाह खेतमा चैतेधान लगाउने बताउदै सवैभन्दा बढी वडा नम्बर ३ मा चारसय बिगाह खेतमा रोपेको चैते धान किसानले भित्र्याउदै गरेकोे बताउनुभयो ।
कैलालीको भजनी पछि जानकी, जोशीपुर,टीकापुर घोडाघोडी स्थानीय तहमा चैते धान लगाउने गरिन्छ भने कञ्चनपुरको महाकाली, कृष्णपुर, बेल्डाँडी,भिमदत्त, बेदकोट, पुनरवास स्थानीय तहका केहि क्षेत्रमा चैते धान लगाउने गरेको कृषी ज्ञान केन्द्र महेन्द्रनगरले जनाएको छ । डुबान नभएका क्षेत्रमा चैतेधान काटेपछि बर्षेधान लगाईन्छ ।
चैतमा लगायर असारमा काट्ने र फेरी असारमा बर्षेधान लगाईने गरिन्छ । ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले कैलालीमा पाँचसय र कञ्चनपुरमा एक सय पच्हत्तर हेक्टर क्षेत्रफलमा चैतेधान लगाउने गरेको जानकारी दिनुभयो । प्रमुख भट्टले चैतेधानको बीउकालागि ज्ञान केन्द्रले यस बर्ष २० लाख अनुदान छुट्याएपनि दुई लाख मात्र खर्च भएको बताउनुभयो । छाडा चौपायाँका कारण चैतेधान लगाउनेको संख्या घट्दै गएको बताउदै उहाँले चैतेधान हुने क्षेत्रका किसानलाई धान खेतीका लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।