logo
२०८१ मंसिर १३ बिहीवार



भारतबाट आउने घटे

प्रदेश |


भारतबाट आउने घटे


सिराज खान । गोविन्द शर्मा
नेपालगञ्ज, जेठ ३२ गते ।
नेपालगञ्ज नाका भएर एक साताअघिसम्म भारतबाट दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा नेपालीहरू फर्किने गरेकोमा अहिले आएर याे सङ्ख्या निकै घटेको जमुनाहा नाकामा रहेको प्रहरी कार्यालयले जनाएको छ ।

एक सातायता दैनिक सात सयदेखि नाै सयको हाराहारीमा मात्रै नेपालीहरू फर्किरहेकोले उनीहरूको व्यवस्थापन गर्न सहज हुँदैगएको जमुनाहा प्रहरी कार्यालयका प्रमुख माधव रिजालले बताउनुभयो । भारतबाट आउनेको सङ्ख्या घटेपछि अहिले उनीहरूलाई सीमानामा बनाइएको होल्डिङ् सेन्टरमा राखेर सम्झाईबुझाई उनीहरूको पालिकामा पठाउने काम भइरहेको रिजालले बताउनुभयो ।  अहिले सीमानामा प्लान इन्टरनेशनलको सहयोगमा बाँके युनेस्को क्लबले भारतबाट आउनेहरूलाई तयारी खाना, पानी, नास्ता, मास्क र साबुन वितरण गरिरहेको छ ।

पाँच हजारको पीसीआर परीक्षण
हालसम्म बाँकेमा पाँच हजार जनाको कोरोना परीक्षण पीसीआर प्रविधिबाट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार हालसम्म बाँकेमा पाँच हजार ५३ जनाको स्वाब सङ्कलन गरिएकोमा चार हजार ९०० को परीक्षण गरिसकिएको र १५३ जनाको परीक्षणको क्रममा रहेको छ ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लामा पाँच हजारको परीक्षण गर्दा ३१७ जना पोजिटिभ देखिएको र तीमध्ये एकको मृत्यु भएको र १९६ जना निको भएर घर फर्किसकेका छन् ।  यसैगरी, बाँकेका छ हजार ४१ जनाको आरडीटी प्रविधिबाट कोरोना परीक्षण गरिएको पनि उहाँले बताउनुभयो ।

नयाँ नक्सा पारित गरिएको खुसीयालीमा नेपालगञ्जमा दीप प्रज्वलन
भारतले मिचेको लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नेपालको नयाँ नक्सा, निसान र छाप सङ्घीय संसदबाट सर्वसम्मतिले पारित भएको उपलक्ष्यमा बाँकेको नेपालगञ्ज र कोहलपुरमा दीप प्रज्वलन गरेर खुसीयाली मनाइएको छ ।

शनिबार राति नेपालगञ्जको न्युरोडलगायत विभिन्न स्थानमा सर्वसाधारणले नयाँ नक्सा बनाई दीप प्रज्वलन गरेर खुशीयाली साटासाट गरेका थिए ।
नेपालगञ्जको भानुभक्त चोकमा वृहतरुपमा दीप प्रज्वलन गरेर सामाजिक दूरी कायम गर्दै खुसीयाली मनाइएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

भानुभक्त टोल विकास समितिको आयोजनामा गरिएको दीप प्रज्वलन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्यले यो ऐतिहासिक अवसरमा जति खुसीयाली मनाए पनि कम हुने बताउनुभयो ।
त्यसैगरी, राष्ट्रिय युवा सङ्घ नेपाल बाँकेको आयोजनामा कोहलपुरमा पनि दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलन कार्यक्रममा युवासङ्घ आबद्ध नेता, कार्यकर्ता, सर्वसाधारणलगायतको उल्लेख्य सहभागिता हरेको थियो ।

दीप प्रज्वलन कार्यक्रममा नेकपा बाँकेका सचिव अशोक कोईराला, नेकपा ५ नम्बर प्रदेश कमिटी सदस्य एवम् बाँके क्षेत्र नं १ ‘ख’ का इन्चार्ज नरेन्द्र न्यौपाने, नेताहरू अब्दुल हुसेन खाँ, रेणुका खड्का, सूर्य ढकाल, बसन्ती अधिकारी, युवा सङ्घका केन्द्रीय सदस्य दीपक जिएम, खेमराज शर्मा, जिल्ला संयोजक कुश्माखर बस्याल, सहसंयोजक आकाश कार्की लगायतको सहभागिता हरेको थियो ।यसैगरी नेपालगञ्ज ३ का इरफान सिद्दिकी लगायतका युवाहरूको टोलीले एकलैनीमा दीप प्रज्वलन गरेका थिए भने स्वास्थ्यकर्मी शर्मिला थापालगायतकाे टोलीले पनि आफ्नो टोलमा दीप प्रज्वलन गरेर शुभकामना साटासाट गरेकाे थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?