logo
२०८१ मंसिर १३ बिहीवार



हुम्लाको एउटै गाउँपालिकाबाट ८२५ स्वाब सङ्कलन गरी जुम्ला पठाइयो

प्रदेश |


हुम्लाको एउटै गाउँपालिकाबाट ८२५ स्वाब सङ्कलन गरी जुम्ला पठाइयो


सिमकोट असार १ गते । हिमाली जिल्ला हुम्लाको एउटै गाउँपालिकाबाट ८२५ स्वाब सङ्कलन गरी काेराेना परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । दुई दिन लगाएर सङ्कलन गरिएको स्वाब हवाईमार्गबाट सिधा जुम्ला टेकअफ गर्ने गरी पठाइएकाे हाे ।

सिमकोट गाउँपालिकाका आठ वटै वडामा जिल्ला बाहिरबाट भित्रिएर क्वारेन्टाइनमा बस्दैआउनुभएको व्यक्तिहरूको स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सीता एयरमा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक दानबहादुर बोहराले बताउनुभयो ।

प्रतिष्ठानले जुम्ला, हुम्ला र डोल्पा जिल्लाका सम्भावित कोरोना आशङ्काका स्वाबहरूको पीसीआर परीक्षण गर्ने जिम्मेवारी पाएको छ । भीटीएम किट बोकेर पाँचदेखि छ घण्टा पैदल क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब सङ्कलन गरी जिल्लाबाट सँगै परीक्षणका लागि जुम्ला पठाउनुपरेको हो । स्वाब सङ्कलन गरिएका व्यक्तिहरूको क्वारेन्टाइन अवधि भने पूरा भएको छैन ।
प्रतिष्ठानमा कोरोना सङ्क्रमणको पीसीआर परीक्षण गर्न समय लाग्ने भएको कारण क्वारेन्टाइन अवधि अगाडि नै स्वाब सङ्कलन गरी पठाइएको उहाँले बताउनुभयो । गाउँपालिकाका आठ वटा वडामा १३ वटा क्वारेन्टाइनहरू स्थापना भएका छन् ।

उहाँहरू सबै काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट हवाई तथा पैदलमार्गबाट उद्धार गरिएका हुन् । सङ्कलित स्वाबहरू बालबालिका, युवा र वृद्धवृद्धाहरूको रहेका छन् । यसअघि सिमकोट गाउँपालिकाले आफैँ दुई हजार भीटीएम किट खरिद गरेको थियो । यसअघि पनि ताँजाकोट गाउँपालिकाले क्वारेन्टाइनमा रहेका ३०९ जनाको स्वाब सङ्कलन गरी जुम्ला पठाएको थियो । ती स्वाबमध्ये २५० वटाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकीको आज पीसीआर परीक्षण हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?