logo
२०८१ मंसिर १३ बिहीवार



बालुवा गिट्टी चोरी निकासी गर्ने १२ ट्रयाक्टर र २२ जना नियन्त्रणमा

प्रदेश |


बालुवा गिट्टी चोरी निकासी गर्ने १२ ट्रयाक्टर र २२ जना नियन्त्रणमा


सिराज खान
नेपालगञ्ज, असार १ गते । बाँके जिल्लाको राप्ती नदीलगायत विभिन्न खोलाहरूबाट खुला रुपमा भइरहेको नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको अवैध चोरी निकासी रोक्न बाँके प्रशासनले कडाई शुरु गरेको छ ।

लामो समयदेखि हुँदै आएको सो प्रकारको अवैध चोरी निकासीलाई रोक्न बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ आफैँ नदी र खोलामा पुगेपछि चोरी निकासीमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् ।
खुला रुपमै नदीजन्य पदार्थको चोरी निकासी भइरहेको सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरीले आइतबार र सोमबार बिहान राप्ती नदीबाट गिट्टी र बालुवा ल्याइरहेका १२ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

राप्ती नदीबाट अवैध रुपमा गिट्टी र बालुवा बोकेर नेपालगञ्जतर्फ आइरहेका ती १२ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिनुका साथै ट्रयाक्टरमा रहेका २२ जना मानिसलाई पनि पक्राउ गरेर मुद्दा चलइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो ।

राप्ती नदिको अवैध दोहन कार्यमा संलग्न २२ जनाविरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएको जनाउँदै उहाँले सो अवैध कार्यलाई पूर्ण रुपमा नियन्त्रण गरिने पनि जनाउनुभयो ।
प्राकृतिक स्रोत साधनको अवैध दोहन रोक्न प्रशासन कार्यालय कटिबद्ध रहेको बताउँदै प्रजिअ कुरुम्बाङले नदिजन्य पदार्थको अवैध दोहन गर्ने जोसुकै भएपनि कानुनको दायरामा ल्याइने बताउनुभयो ।

आइतबार तीन वटा ट्रयाक्टर र सोमा सवार नाै जनालाई नियन्त्रणमा लिइएको र सोमबार बिहान नाै वटा ट्रयाक्टर तथा सो मा सवार १३ जनालाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताउनुभयो ।
उहाँका अनुसार सोमबार बिहान करिब २ बजेर ३० मिनेटको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ को बाटो हुँदै अवैध रुपमा बालुवा, ग्रावेल चोरी निकासी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भे १ त ९२३७, भे १ त ८३६२, भे २ त १२३, भे १ त ५९२६, भे १ त ६९६४, भे १ त ४२४६, भे १ त ७१४९, भे.१ त ५२६२ र नम्बर नभएको एक गरेर नाे वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो ।

 ट्रयाक्टरमा अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्नेहरूसँग सोधपुछ गर्दा निजहरूले प्रहरी टोली माथी नै अभद्र व्यवहार गरेको हुदा उनीहरूविरुद्ध अभद्र व्यवहार कसुरमा समेत अनुसन्धान भइरहेको प्रहरी प्रमुख ओलीले बताउनुभयो । नियन्त्रणमा लिइएका १२ वटै ट्रयाक्टर तथा लोड गरिएको बालुवा, ग्रावेललाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति बाँकेमा बुझाइएको पनि जिल्ला प्रहरी कार्याललयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?