शिवकुमार काशी
हेटौँडा, असार १ गते । मकवानपुरको कैलाश गाउँपालिकाको प्रशासनिक भवनमा जेठ १५ गते भएको आगलागी घटना छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । गाउँपालिका अध्यक्ष टङ्कबहादुर मुक्तानसमक्ष पेश भएको प्रतिवेदनमा प्रशासनिक भवनमा आगलागी हुनुको मुख्य कारण चट्याङपछि उत्पन्न परिस्थितिलाई इङ्गित गरिएको छ । भवनमा आगलागी हुनुभन्दा दुई दिनअघि कैलाश गाउँपालिका -३, कालिकाटारमा ठूलाे चट्याङ परेको र उक्त चट्याङले विभिन्न व्यक्ति र संस्थाहरूका विद्युतीय सामग्रीहरूमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । सोही क्रममा गाउँपालिकाको भवनमा रहेको सौर्य ऊर्जा प्रणालीमा पनि क्षति पुगेको र सोको समयमै मर्मत नभएकाले आगलागी भएको प्रतिवेदनमा उल्लेख छ ।
जेठ १३ गतेको चट्याङले क्षति गरेको सौर्य उर्जा मर्मत नगरिएकै अबस्थामा रहेकामा जेठ १५ गते चर्काे घाम लागेपछि विद्युत उत्पादन सुरु भएपछि उपकरणहरूमा आगलागी सुरु भई भवन जलेको प्रतिवेदनमा उल्लेख गरिएको छानबीन समितिले जनाएको छ । जेठ १४ गते घाम नलागेकाले कुनै क्षति नभएपनि जेठ १५ गते चर्काे घाम लाग्दै जाँदा ११ः१५ बजे भवनमा सौर्य ऊर्जाकै सर्किटहरू खराब भई आगलागी भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा गाउँपालिका भवनसहित त्यहाँ रहेका विद्युतीय उपकरणहरू, अन्य भौतिक सामग्रीहरूसहित आगो लागेर जल्दा एक करोड एकाउन्न लाख अठहत्तर हजार आठ सय पच्चीस रुपियाँ बराबरको क्षति भएको उल्लेख छ ।
समितिले प्रत्यक्षदर्शीहरूको बयान, सौर्य उर्जा जडानको प्राविधिक पक्ष, गाउँपालिकाको शाखागत विवरण सङ्कलन, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूको भनाइ, स्थलगत अनुगमन र अवलोकनपछि प्राप्त सूचनाहरूको विश्लेषण गरी अन्तिम प्रतिवेदन गाउँपालिकालाई प्रस्तुत गरेको जनाएको छ । । १० दिने कार्यादेश पाएको समितिले १० दिनमा विवरण सङ्कलन गर्न नभ्याएपछि पुनः कार्यपालिकाको बैठकले पाँच दिन म्याद थप गरी काम गर्ने आदेश दिएको थियो । सोही बमोजिम निर्धारित समयमै प्रतिवेदन बुझाइएको संयोजक सुकुमाया थिङले बताउनुभयो ।