logo
२०८० चैत्र १६ शुक्रवार



प्रदेश २ मा ३३ अर्ब ५६ कराेडको बजेटः कोरोना नियन्त्रण, कृषिमा जोड

प्रदेश |


प्रदेश २ मा ३३ अर्ब ५६ कराेडको बजेटः कोरोना नियन्त्रण, कृषिमा जोड


धर्बेन्द्र झा
जनकपुरधाम, असार १ गते । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको आयव्ययको अनुमानित बजेट प्रस्तुत गरेको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सोमबार  बजेट प्रस्तुत गर्नुभयो ।

अर्थमन्त्री यादवले प्रस्तुत गर्नुभएको बजेटमा चालू खर्च तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात् ४५.०९ प्रतिशत तथा पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात् ५३.६७ प्रतिशत रहेको छ । साथै वित्तीय व्यवस्थातर्फ १६ करोड रहेको छ ।

प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षभन्दा करिब ७ अर्बले कम रहेको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रण, स्वास्थ्य क्षेत्रको सुधार, कृषि, रोजगारी र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । त्यसैगरी, पर्यटन तथा वातावरण र कृषिमा अधारित उद्योगको विकासमा बजेटमा जोड दिएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति गराउँदै आम नागरिकको जीवनस्तर अभिवृद्धि गर्ने, लगानीमैत्री वातावरणमार्फत उत्पादनमूलक क्षेत्रहरूमा रोजगारीका अवसरहरूको सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने, गरिब तथा जोखिममा परेका नवजात शिशुसमेतलाई सुरक्षित, पोषणयुक्त र पर्याप्त खाद्यान्नको सुनिश्चितता गर्दै भोकमरीको अन्त्य गर्ने, समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्दै सबैका लागि जीवनपर्यन्त शिक्षाका अवसरहरू उपलब्ध गराउने, महिला र बालिकाहरूमाथि हुने सबै प्रकारको हिंसा, शोषण र विभेदको अन्त्य गरी राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रका हरेक निर्णयहरूमा महिलाहरूको सक्रिय सहभागिता गराउने कुरा समेटिएका छन् ।

त्यस्तै, बजेटमा अवसरको सुनिश्चितता गर्ने तथा लैङ्गिक समानता कायम गर्ने, स्वच्छ खानेपानी, सरसफाइ, पर्याप्त आधुनिक उर्जासहितको सुरक्षित मानव बसोबास तथा व्यवस्थित सहरीकरणमा जोड दिने, उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, फरक क्षमता भएका व्यक्ति, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक अवस्थाको आधारमा हुने विभेद र असमानताको अन्त्य गर्ने, जलवायू परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न प्रादेशिक नीति, रणनीति र योजना तर्जुमामार्फत प्राकृतिक स्रोतहरूको दिगो र प्रभावकारी उपयोग गर्ने, जैविक विविधताको ह्रास, जमिनको उर्वराशक्तिको ह्रास हुन नदिन र मरुभूमिकरणबाट जोगिनका लागि पारिस्थितिक प्रणालीको संरक्षण र सम्वर्द्धन गर्ने बजेटको उदेश्य रहेको छ ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको स्रोतको रुपमा आन्तरिक राजश्वबाट १२ अर्ब, नेपाल सरकारको विभिन्न अनुदानबाट १३ अर्ब ४० लाख र चालु आर्थिक वर्षको नगद मौज्दात तथा आन्तरिक ऋणबाट ६ अर्ब ९१ लाख उठाउने उल्लेख गरिएको छ ।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा केही नयाँ कार्यक्रम र विषयहरूलाई समेट्नुको साथै कतिपय पुराना कार्यक्रहरूलाई नै निरन्तरता दिएको छ । प्रदेश सरकारले प्रदेश सभाका सदस्यहरुको निर्वाचन कार्यक्रमका लागि २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?