होमराज रानाभाट
कावासोती (नवलपरासी), असार २ गते । पूर्वी नवलपरासीमा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । एक सातामै कोरोना सङ्क्रमितको सङ्ख्यामा दोब्बरभन्दा धेरैले वृद्धि भएको हो ।
एक हप्ताअघिसम्म १५ जनामा सङ्क्रमण देखिएकामा मङ्गलबारसम्म सङ्क्रमितको सङ्ख्या ४९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमण भेटिएकामध्ये एक महिला निको भएर डिस्चार्ज भएकी छन् भने ४८ जनाको उपचार भइरहेको छ ।
आज तीन जनामा थप कोरोना सङ्क्रमण भेटिएको छ । तीमध्ये कावासोती र मध्यविन्दु नगरपालिकामा एक/एक जना र विनयी त्रिवेणी गाउँपालिकामा एक जना नयाँ सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पूर्वी नवलपरासीबाट अझै करिब आठ सय जनाको स्वाब सङ्कलन गरी पठाइएकोमा परिणाम अझै नआएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाइँले बताउनुभयो ।
कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि पूर्वी नवलपरासीको रजहरको प्राकृतिक चिकित्सालयको आइसोलेसनमा अहिले ४० जनाको उपचार भइरहेको र थप आइसालेसन कक्षको निर्माण कार्यलाई तीव्र बनाइएको प्रमुख चापागाइँले बताउनुभयो । हाल एक सय बेड क्षमताको आइसोलेसन निर्माण गरिएकोमा चार सय बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिने गरी प्रकृया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले समेत यहाँ आइसोलेसन निर्माण गर्ने गरी स्थलगत अध्ययन गरी प्रकृया अघि बढाएपछि करोड बढी सहयोग जुटेको जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेले बताउनुभयो । प्राकृतिक चिकित्सालयलाई कोरोना अस्पतालका रुपमा अघि बढाउने निर्णय भएपछि जिल्लामा सङ्क्रमितलाई बाहिर जिल्ला पठाउनु नपर्ने प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।
जिल्लामा हालसम्म एक हजार छ सयको पीसीआर परीक्षण गरिएको छ भने दुई हजार चार सयको आरडीटी जाँच गरिएको छ । भारतबाट मात्रै अहिलेसम्म दुई हजार बढी नेपाली जिल्ला भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।