लीलाराज झापाली
बिर्तामोड, असार २ गते । मेची अञ्चल अस्पताल भद्रपुरको आइसियु कक्षमा उपचारार्थ एक पुरुषमा कोरोना पुष्टि भएसँगै अस्पतालको आइसियु कक्ष सिल गरिएको छ भने अन्य सेवा सुचारु रहेको छ ।
आइसियु कक्षमा राखेर उपचार गरिरहेका एक व्यक्तिमा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसियु कक्ष सिल गरी अन्य सेवा सुचारू रहेको मेडिकल सुपरिटण्डन डा. पिताम्बर ठाकुरले जानकारी दिनुभयो । मेसु डा. ठाकुरका अनुसार २५ जना भन्दा बढी स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नेछन् । अस्पतालमा शनिबार भर्ना भएका एक जना बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आइसियु कक्ष, आइसोलेसन, इमरजेन्सी, ल्याबलगायतमा कार्यरत स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको हो ।
अस्पतालका दुइ जना फिजिशियन, तीन जना मेडिकल अधिकृत, आइसियुका अाठ जना नर्स, ईमरजेन्सी, ल्याबका कर्मचारी, एक्सरेका कर्मचारीसहित २५ जनाभन्दा बढी क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको छ । अस्पतालले तयार गरेको क्वारेन्टाइन र स्वास्थ्यकर्मीको क्वार्टरलाई क्वारेन्टाइनको रूपमा प्रयोग गरिने जनाइएको छ ।
यता अस्पताल आसपासका बासिन्दाले भने अस्पताल क्षेत्र नै सिल गरेर निसङ्क्रमित बनाएर सेवा सुचारु हुनुपर्ने माग गरेका छन् । उनीहरूले अस्पताल भित्रका विभिन्न फाँटमा कोरोना सङ्क्रमितको कन्ट्याक्ट भएको कारण आशङ्कित सबैको कन्ट्याक्ट ट्रेसिङ गरेपछि अस्पतालको सेवा सुचारु गरिए सङ्क्रमण त्रास नहुने जनाएका हुन् ।
अन्य सेवाको बारेमा अस्पताल सञ्चालन समितिको बैठकले निर्णय गर्ने मेसु डा. ठकुरको भनाइ छ ।
भद्रपुर वडा नम्बर ८ का ती व्यक्ति भारतबाट जेठ २९ गते फर्किएका हुन् । उनी मेची बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । उनको छातीमा समस्या भएपछि शनिबार मेची अञ्चल अस्पताल ल्याएका ती युवालाई इमरजेन्सीबाट आइसियुमा राखिएको थियो । सोमबार सङ्क्रमणको पुष्टि भएपछि उनको थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।