मधुसुधन तिमल्सिना
काभ्रे, असार २ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले काभ्रेपलाञ्चोक जिल्लाका क्वारेन्टाइनको अवलोकन गर्नुभएको छ । क्वारेन्टाइन मापदण्ड अनुसार नभएको मुलुकभरबाट गुनासो आउन थालेपछि राज्यमन्त्री रावत क्वारेन्टाइन अवलोकनमा सोमबार काभ्रेपलाञ्चोक आउनुभएको थियो ।
उहाँले धुलिखेल नगरपालिका वडा न ७ सञ्जीवनी नमूना माध्यमिक विद्यालय र नमोबुद्ध नगरपालिका वडा नं. ४ जनक माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनको अवलोकन गर्नुभएको थियो । क्वारेन्टाइन बेडको अवलोकनपश्चात बोल्नुहुँदै सरकारले तोकेको मापदण्ड अनुसार काभ्रेपलाञ्चोकमा बनेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले काभ्रेपलाञ्चोक जिल्लामा डब्लुएचओले भने अनुसार नेपाल सरकारले तोकेको मापदण्ड र स्वास्थ्य मन्त्रालयले बनाएको विधिअनुरुप देख्दा अत्यन्तै खुसी लागेकाे बताउनुभयो । भवनको सुगमता, जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रहरी, सेना सबैको सहयोगले नै मापदण्ड अनुसार बनेको उहाँको भनाइ थियो ।
कोभिड–१९ लाई निर्मूल पार्न जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरू र सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोडदिनुभयो । कोभिडविरुद्ध लड्न दिनरात खट्ने स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपुर्ण रहेको बताउनुभयाे । उहाँले मेथिनकोट अस्पताललाई नेपाल सरकारको नीति अनुसार स्तरोन्नति गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
स्वास्थ्य राज्यमन्त्री रावलले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झा, नेपाली सेना, प्रहरी प्रमुखलगायतसँग जिल्लाको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । उहाँले मेथिनकोट अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद तिमल्सिनामार्फत हस्तान्तरण गर्नुभएको थियो ।