logo
२०८१ मंसिर १३ बिहीवार



क्वारेन्टाइनमा बसेकालाई निःशुल्क खाजा खुवाउँदै स्थानीय युवा

प्रदेश |


क्वारेन्टाइनमा बसेकालाई निःशुल्क खाजा खुवाउँदै स्थानीय युवा


चाँदनी आचार्य
कैलाली, असार २ गते । कैलालीको घोडाघोडी नगरपालिकामा रहेका करिब तीन हजार क्वारेन्टाइनमा बस्नेहरू घरबाट नै खाना ल्याएर खाने गरेका छन् । सङ्ख्या वृद्धिसँगै नगरपालिकाले खानाको व्यवस्थापन गर्न नसकेपछि उनीहरू घरबाटै खाना मगाउन बाध्य भएका हुन् । क्वारेन्टाइनमा बसेकाहरूलाई यतिखेर स्थानीय युवाहरूको सक्रियतामा खाजा खुवाउने कार्य भइरहेको छ ।

स्थानीय सरकारले पालिकाका विभिन्न सरकारी विद्यालयमा भारतबाट आएका मानिसलाई बस्ने व्यवस्थासहित क्वारेन्टाइन बनाए पनि भारतबाट आउनेको सङ्ख्या दैनिक बढेसँगै उनीहरूको व्यवस्थापनमा समस्या देखिएपछि यहाँका केही युवाहरूले आफ्नै गाउँघरका मानिसलाई खाजा खुवाउने कार्यमा सहयोग गर्दैआएका हुन् । कामको सिलसिलामा काठमाडाैँमा रहेका घोडाघोडी–१ सुखडका राजेश हमाल र सुरेन्द्र शाहीले काठमाडौँबाटै क्वारेन्टाइनमा बसेका दुई सय बढीलाई खाजा खुवाउन सहयोग गरेसँगै उनीहरूको कार्यलाई पछ्याउँदै अहिले दैनिक धेरै युवाहरूले खाजा खुवाउन सहयोग गरेका छन् । राजेशले शुरु गरेको खाजा खुवाउने कार्यमा धेरैले खाजा खुवाउन सहयोग गर्ने प्रस्ताव गरेपछि अहिले राजेश काठमाडाैँबाट घोडाघोडी आई दैनिक विभिन्न क्वारेन्टाइनमा सहयोगीले प्रदान गरेको खाजा खुवाउन  व्यस्त देखिन्छन् ।

राजेशले भन्नभयो ‘हामी युवाहरूले विपद्का बेला केही गरौँ भन्ने लागेर सानो सहयोग गरेका थियो । अहिले यसैलाई पछ्याउँदै धेरैले खाजा खुवाउन सहयोग गरिरहनुभएको छ । हामीलाई खुसी लागेको छ ।’ राजेशले गरेको कार्यलाई अहिले वडाका अन्य युवाहरूले समेत सिको गरेका छन् । घोडाघोडी क्लबमा आबद्ध युवाहरू अहिले क्लबमार्फत विभिन्न व्यक्तिहरूबाट सहयोग प्राप्त रकमबाट क्वारेन्टाइनमा खाजा खुवाउने कार्य गरेका छन् । कतिपयले व्यक्तिगत आफैँ क्वारेन्टाइनमा पुगी खाजा खुवाएका छन् । स्थानीय युवा व्यापारी दुर्गा गौतमले सोमबार आफ्ना छोराहरूका साथ क्वारेन्टाइनमा बसेकालाई अण्डा चना जुस खुवाएको बताउनुभयो ।

व्यक्तिगत होस् वा विभिन्न युवा क्लबहरूमार्फत होस् अहिले घोडाघोडीका विभिन्न वडाका क्वारेन्टाइनमा बसेकाहरूलाई खाजा खुवाउन युवाहरूले गरेको कार्यप्रति चर्चा हुन थालेको छ । स्थानीय युवाहरूको सहयोगी भावना देखेर देश विदेशमा रहेकाहरूले समेत खाजा खुवाउन सहयोग पठाएका छन् । घोडाघोडी-१, बेलारका हाल अमेरिका रहनुभएका अग्नी देवकोटाले समेत भारतबाट आई क्वारेन्टाइनमा बसेकालाई खाजा खुवाउन सहयोग रकम पठाएको बताउनुभयो । उहाँले विपद्का बेला सबैले एक आपसमा सहयोग र भाइचाराको सम्बन्ध कायम राख्नुपर्ने बताउनुभयो । स्थानीय युवाहरूको सक्रियतामा खाजा खान पाउँदा क्वारेन्टाइनमा बसेकाहरू समेत खुसी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?