logo
२०८१ मंसिर १३ बिहीवार



खोलाको अवैध उत्खनन रोक्न माग गर्दै राजमार्गमा चक्काजाम

प्रदेश |


खोलाको अवैध उत्खनन रोक्न माग गर्दै राजमार्गमा चक्काजाम


जनार्जन खत्री
सर्लाही, असार २ गते । पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको फूलजोरका स्थानीय बासिन्दाले गाउँ नजिकैको खोलामा भइरहेको अवैध उत्खनन रोक्न माग गर्दै आज राजमार्गमा चक्काजाम गरेका छन् ।

फूलजोर खोलामा मनपरी किसिमले भइरहेको उत्खननले गर्दा खोलाले धार परिवर्तन गरी फूलजोर बस्ती नै बाढीको जोखिममा परेको भन्दै स्थानीय बासिन्दाले मङ्गलबार मध्यान्ह राजमार्गमा चक्काजाम गरेका हुन् । राजमार्गदेखि उत्तरतर्फ निकै गहिरो पारेर जथाभावी गिट्टी, बालुवा निकाल्दा फूलजोर खोलाको धार गाउँतिर सोझिएको स्थानीय मीनकुमार गौतमले जानकारी दिनुभयो ।
बस्ती नै जोखिममा पार्ने गरी अवैध उत्खनन गर्ने सवारी साधन गाउँले आफैँले नियन्त्रणमा लिएर प्रहरीमा बुझाउँदासमेत बिना कारबाही छाडिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन बाध्य भएर राजमार्गमा चक्काजाम गर्ने कार्यमा उत्रिएको स्थानीय बासिन्दाले बताएका छन् । लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमा भएर बग्ने फूलजोर खोला प्रत्येक वर्ष पालैपालो ठेक्का लगाउने सहमति अनुसार यस वर्ष लालबन्दी नगरपालिकाले ठेक्का लगाएको थियो ।

लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले सम्झौतामा उल्लेख भएको परिमाण अनुसार ठेकेदारले उत्खनन गरिसकेकाले अब थप उत्खनन गर्न नपाउने बताउनुभयो । उहाँले असार १ गतेदेखि उत्खनन कार्य बन्द भएको व्यहोराको पत्र ठेकेदार र लालबन्दी तथा ईश्वरपुर प्रहरीलाई पठाइसकिएको जानकारी दिनुभयो ।

यस्तै, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले मापदण्डविपरीत खोला उत्खनन गरेको पाइए ठेकेदारले नै जथाभावी खनेको खाल्डो पुर्नुपर्ने बताउनुभयो । उता खोलाको ठेक्का पाएको गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि टीका गजुरेलले सम्झौता अनुसार जेठ मसान्तसम्म मात्रै उत्खनन गरेको र त्यसपछि खोलामा सवारी साधन नलगेको दाबी गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?