मुना हमाल
सुर्खेत, असार २ गते । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेट सन्तुलित र यथार्थपूर्ण रहेको दाबी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मङ्गलबार पत्रकार सम्मेलनमा बजेट सन्तुलित, यथार्थ र व्यवहारिक बजेट ल्याएको दाबी गर्नुभएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड बराबरको बजेट ल्याएको छ ।
उहाँले महामारी, भोकमरीबाट जनतालाई जोगाउने र रोजगार केन्द्रित बजेट ल्याएको भन्दै यो बजेट सन्तुलित भएको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा खर्च हुन नसकेको ११ अर्ब, केन्द्र सरकारले उपलब्ध गराएको अनुदान र राजश्व बाँडफाँड र प्रदेश सरकारको आम्दानीलाई मात्रै बजेटमा समावेश गरिएको जानकारी दिनुभयो । उहाँले यसपटक घाटा बजेट नल्याएकोले पनि यथार्थ, वास्तविक र सन्तुलित बजेट ल्याइएको जिकिर गर्नुभयो ।
उहाँले ६० प्रतिशत प्रशासनिक खर्च कटाइएको र पुँजीगततर्फको बजेट बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘५७ प्रतिशत बजेट पुँजीगततर्फ छुट्याइएको र ३४ प्रतिशत मात्रै चालु खर्चमा छ । तर चालू खर्चको पनि कोभिड रोकथाम र उपचारमा खर्च हुन्छ । १५ प्रतिशत बजेट प्रशासनिक खर्च हुने अनुमान गरेका छौँ । अनाश्यक भ्रमण, गोष्ठी र भत्ता कटौती गरेका छौँ ।’
उहाँले यही असारमा कार्यविधि तयार गरेर आगामी साउनदेखि नै बजेट कार्यान्वयनमा जाने बताउनुभयो ।
उहाँले कोरोना महामारी रोकथाम र उपचारमा बजेटको कमी नगर्ने जिकिर गर्नुभयो । पुरानै योजनालाई अहिले निरन्तरता दिएकाले आर्थिक वर्ष सुरु हुनेबित्तिकै कार्यान्वयनमा लैजाने उहाँको भनाइ छ । बजेटको ठूलो हिस्सा २० प्रतिशत अर्थात् सात अर्ब बजेट कृषि उत्पादन, विकास र रोजगारीलाई समेट्ने गरी बहुआयमिक योजनामा छुट्याइएको उहाँले उल्लेख गर्नुभयो । उहाँले कृषकलाई नगद अनुदान नदिएर कृषि औजार, बीउबिजन, ढुवानीलगायतमा अनुदान दिइने बताउनुभयो ।