logo
२०८१ मंसिर १३ बिहीवार



गल्याङमा तयार भयो ५० शय्याको आइसोलेसन

प्रदेश |


गल्याङमा तयार भयो ५० शय्याको आइसोलेसन


अर्जुन काफ्ले
स्याङ्जा, असार ३ गते । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा स्याङ्जाको तीन ठाँउमा १२० शय्याको सुविधासम्पन्न आइसोलेसन कक्ष तयार गरिएको छ । अस्पतालको पूर्वाधार भएका ठाँउलाई आइसोलेसनमा परिणत गरिएको हो ।

पछिल्लो पटक गल्याङ नगरपालिकामा रहेको नगर अस्पताललाई आइसोलेसनमा परिणत गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग तथा गल्याङ नगरपालिकाको समन्वयमा आइसोलेसन वार्ड तयार पारिएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । गल्याङ नगरपालिकाको स्वामित्वमा रहेको नगर अस्पताललाई आइसोलेसनमा परिणत गर्नका लागि प्रदेश सरकारबाट १० लाख रुपियाँ प्राप्त भएको हो ।  प्रदेशबाट उपलब्ध रकम भवन मर्मत र सङक्रमितको बसोबास तथा खाना, खाजामा खर्च गर्ने शर्माले बताउनुभयो ।

यसअघि कालिका सामुदायिक अस्पतालमा ६० शय्याको आइसोलेसन वार्ड तयार गरी प्रयोगमा ल्याइएको थियो । कालिका अस्पतालमा अहिले पनि ५० जना कोरोना सङक्रमितलाई राखिएको छ । कालिका सामुदायिक अस्पताललाई आइसोलेसन वार्डमा परिणत गर्न प्रदेश सरकारबाट तत्काल १० लाख रुपियाँ उपलब्ध गराइएको थियो भने सङक्रमितहरूको खानाको व्यवस्था, उपचार खर्च र स्वास्थ्यकर्मीलाई दिनुपर्ने सेवा सुविधा प्रदेशले व्यहोर्ने स्वास्थ्य प्रमुख शर्माले बताउनुभयो ।
त्यस्तै जिल्ला अस्पताल स्याङ्जामा पनि १० बेडको सुविधासम्पन्न आइसोलेसन वार्ड रहेको छ । पुतलीबजार नगरपालिकाको समन्वयमा निर्माण गरिएको आइसोलेसनको व्यवस्थापनका लागि प्रदेशले १० लाख रुपियाँ उपलब्ध गराएको जिल्ला अस्पतालका प्रमुख डाक्टर सुशील मरासिनीले जानकारी दिनुभयो ।
क्वारेन्टाइनको जिम्मा स्थानीय तहले र आइसोलेसनको जिम्मा प्रदेश सरकारले लिएको भन्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले अपुग रकम प्रदेशबाट शोधभर्ना हुँदैजाने बताउनुभयो । स्याङ्जामा सरुवा भई आएलगत्तै प्रजिअ क्षेत्रीले गल्याङमा आइसोलेसन निर्माणका लागि सक्रियता देखाउनुभएको थियो ।

जिल्लामा सङक्रमित बढिरहेको जानकारी पाउनासाथ सम्भव भएको र अस्पतालका पूर्वाधार भएको ठाँउलाई सुविधा सम्पन्न आइसोलेसन बनाउन प्रशासन सक्रिय भएको प्रजिअ क्षेत्रीले स्पष्ट पार्नुभयो । गल्याङको आइसोलेसनमा मङ्गलबार चापाकोटका सङक्रमितलाई राखिएको प्रजिअ क्षेत्रीले जानकारी दिनुभयो

आइसोलेसनका २८ जनाको स्वाब लिइयो
कोरोना भाइरस सङ्क्रमित भई भिरकोट-१, हेलुमा आइसोलेसन राखिएका २८ जनाको स्वाब लिइएको छ । सरकारको नीति अनुसार १४ दिन राखेर परीक्षण बिना घर पढाउने तयारीमा रहेको अस्पतालले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निर्देशन अनुसार स्वाब लिएको थियो ।

मुख्य मन्त्री गुरुङले मङ्गलबार अस्पतालको निरीक्षण गर्दै कोरोना सङ्क्रमितलाई सङ्क्रमणमुक्त बनाएर मात्र घर पढाउन निर्देशन दिनुभएको थियो । मुख्यमन्त्री निर्देशनसँगै जिल्लामा जेठ २० गते र जेठ २२ गते सङ्क्रमित भएकाको स्वाब लिएको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।  वालिङका १९ जना, चापाकोटका चार जना, हरिनाशका दुई जना, भिरकोट, बिरुवा र कालिगण्डकीका एक/एक जना आइसोलेसनमा बसेकाको स्वाब लिइएको हो ।

जिल्लाका ६४ जना सङ्क्रमितमध्ये ५० जना कालिकामा रहेकामा अब २२ जनाको स्वाब लिन बाँकी रहेको छ । यहाँका सङ्क्रमितमध्ये ५० जना कालिका, चार जना गल्याङ र दुई जना पोखराको आइसोलेसनमा रहेका छन् । सात जना निको भएर घर फर्किएका छन् भने एक जनाको निधन भएको शर्माले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?