logo
२०८१ मंसिर १३ बिहीवार



महाकाली बाढीको छ वर्ष पूरा, राहत नपाएको पीडितको गुनासो

प्रदेश |


महाकाली बाढीको छ वर्ष पूरा, राहत नपाएको पीडितको गुनासो
फाइल तस्बिर


लोकेन्द्रप्रसाद जोशी
दार्चुला, असार ३ गते । महाकाली नदीको बाढीले दार्चुला सदरमुकाम खलङ्गामा वितण्डा मच्चाएको छ वर्ष पूरा भएको छ । वि. संं . २०७० साल असार २ गतेबाट महाकालीमा आएको बाढीले दार्चुला सदरमुकामको भौगोलिक स्वरुप नै परिवर्तन भएको थियो ।

छ वर्ष अघि एउटै लहरमा जोडिएको दार्चुला सदरमुकाम अहिले स्वरुप परिवर्तन भएर तीन टुक्रामा विभाजित छ । २०७० असार २ गतेबाट महाकाली नदीमा आएको बाढीले दार्चुलाका झण्डै डेढ सय घर परिवार तथा दर्जन बढी सरकारी कार्यालय बगाउँदा करोडौँको धनमाल क्षति भएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङक अनुसार ११ ओटा सरकारी कार्यालय बगाउँदामात्रै २३ करोड ७९ लाख ३५ हजार दुई सय ७८ रुपियाँ बराबरको क्षति भएको थियो । बाढीमा परी दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ परिवार विस्थापित भएका थिए । तर पीडितहरूले भने तत्कालीन अवस्थामा सरकारबाट ३५ हजार रुपियाँ राहतबाहेक केही सुविधा नपाएको गुनासो गरिरहेका छन् ।

बाढी पीडितले पुनर्स्थापनाको माग राख्दै बाढी पीडित सङ्घर्ष समिति गठन गरेर आवाज उठाए पनि हालसम्म सुनुवाई नभएको बाढी पीडित रघुवीरसिंह ठगुन्नाले बताउनुभयो । तात्कालिन सरकारको मन्त्री परिषदको निर्णयले बाढी पीडित व्यवसायीलाई सहुलियत रुपमा ऋण दिने, बाढी पीडितका छोराछोरीहरूलाई वैदेशिक रोजगारी तथा अन्य सरकारी सेवा सुविधामा सहुलियत दिने निर्णय गरे पनि कार्यान्वयन भएको छैन । अहिले पनि बङ्गाबगडको पारिपट्टी आएको खोतिला पहिरोको त्रासमा स्थानीय छन् ।

महाकाली नदीमा बाढीपछि पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी आर्थिक वर्ष २०७०/०७१ बाट शुरु भएको नदी नियन्त्रण आयोजनाकाे काम अहिलेसम्म पूरा भएको छैन । २०७० सालको घटना दोहोरिन नदिन समयमै कूटनीतिक पहल गरेर भए पनि खोतिला पहिरो हटाउन स्थानीयले आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?