logo
२०८१ बैशाख १७ सोमवार

  गण्डकी प्रदेशमा तेस्राे अपडेट  



बिहीबार बिहान ७७ सङ्क्रमित थपिए, कुल ३२४ पुग्यो

प्रदेश |


बिहीबार बिहान ७७ सङ्क्रमित थपिए, कुल ३२४ पुग्यो


चन्द्रप्रकाश शर्मा
पोखरा, असार ४ गते । गण्डकी प्रदेशमा बिहीबार बिहान मात्र ७७ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमित पुष्टि भएको छन् । गण्डकी स्वास्थ्य निर्देशनालय बिहीबार बिहानसम्म तीन पटक कोरोना सङ्क्रमितको अद्यावधिक गरेको थियो । बिहान ५ः४५ बजेको विज्ञप्तिमा ४२ जना, बिहान ८ बजेको विज्ञप्तिमा पाँच जना र बिहान ९ बजेको विज्ञप्तिमा ३० जना नयाँ सङ्क्रमित थपिएकाे जानकारी दिइएकाे थियाे ।
गण्डकी प्रदेशको नवलपरासी पुर्वका ३१, तनहुँमा १५, गोरखामा ११, पर्वतमा नाै, स्याङ्जामा नाै, बागलुङमा एक र मनाङमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको हो । मनाङको चामे गाउँपालिकामा कार्यरत कविलवस्तु जिल्लाको बाढगङ्गा निवासी ५७ वर्षीय पुरुषबाहेक अरु सबै भारतबाट आएर स्थानीय तहको क्वारेन्टाइनमा बसेका व्यक्तिहरू रहेको जनाइएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार मनाङमा कार्यरत ती व्यक्ति केही समयअघि कपिलवस्तुस्थित घर पुगेर मनाङ फर्किएकाले परीक्षणका क्रममा कोरोना सङ्क्रमण देखिएको थियो । गण्डकी प्रदेशको मनाङमा पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको हो । पर्वत जिल्लाको क्वारेन्टाइनमा बसेकाहरूको स्वाब सङ्कलन भए पनि पोखरास्थिति प्रयोगशालामा चापका कारण परीक्षण हुन नसकेपछि पर्वतबाट उक्त स्वाब भरतपुर पठाइएको थियो ।
पर्वतबाट भरतपुर पठाइएका स्वाबमध्ये पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालले प्रतिवेदनमार्फत जानकारी गराएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका सबैलाई जिल्लाहरूमा स्थापना गरिएका आइसोलेसनमा राखेर उपचार गर्ने तयारी सुरु गरिएको छ ।
नयाँ सङ्क्रमित थपिएसँगै हालसम्म गण्डकी प्रदेशमा सबैभन्दा धेरै नयाँ सङ्क्रमण पुष्टि भएसँगै नवलपरासीमा गण्डकी प्रदेशमै सबैभन्दा धेरै कोरोना सङ्क्रमित रहेका छन् । पछिल्लो विवरण अनुसार नवलपरासी पूर्वमा ९७, स्याङ्जामा ७३ जना, बागलुङमा ४२ जना, पर्वतमा ३८, गोरखामा ३६ जना, तनहुँमा २६ जना, कास्कीमा सात जना, म्याग्दीमा तीन जना र लमजुङ र मनाङमा एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण भएका ३२४ जनामध्ये २२ जना कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किसकेको र एक जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?