logo
२०८१ मंसिर १३ बिहीवार



घोडाघोडीमा पहिलो पटक ठिमाहा फ्यालफ्याले चरा भेटियो

प्रदेश |


घोडाघोडीमा पहिलो पटक ठिमाहा फ्यालफ्याले चरा भेटियो


अविनाश चौधरी
धनगढी, असार ४ गते । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको प्रसिद्ध घोडाघोडी ताल क्षेत्रमा पहिलो पटक ठिमाहा फ्यालफ्याले चरा भेटिएको छ । चरा गणनाको क्रममा जुन १६ मा घोडाघोडी ताल क्षेत्रमा पहिलो पटक यो प्रजाति अभिलेख भएको हो । बटुवा चराको रुपमा चिनिने फ्यालफ्याले नेपालको कोसीटप्पु वन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्जमा भने यसअघि देखिएको थियो । सो क्षेत्रपछि नेपालको पश्चिमी क्षेत्रमा घोडाघोडीमा पहिलोपटक यो प्रजाति देखिएको चराविज्ञ हिरुलाल डङ्गौराले बताउनुभयो ।

उहाँका अनुसार एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने क्रममा ठूलो नदीनाला र तालतलैया क्षेत्रमा फ्यालफ्याले प्रजातिको चरा देखा पर्दछन् । चीन र मङ्गोलिया क्षेत्रमा प्रजनन गर्ने यो प्रजाति वसन्त र वर्षाकाे माैसममा नेपालको बाटो हुँदै भारतमा बसाइँसराइ गर्दछन् ।
यो प्रजातिको चरा केही सङ्ख्यामा भारतमै बस्ने गरेको चराविद डङ्गौराको भनाइ छ । कक्षभूमि खोला, ठूला नदी र ताल यो प्रजातिको बसोबास स्थान हो ।

नेपालमा भने अहिलेसम्म नौ प्रजातिको फ्यालफ्याले चरा अभिलेख गरिएको छ । लघु फ्यालफ्याले, केकरा, ठिमहा, सेतोपङ्खे, कुरारी, वायु, उत्क्रोशी, गङ्गाचील ठूँडे र ध्वाँसे फ्यालफ्याले नेपालमा भेटिएको डङ्गौराले बताउनुभयो ।
जैविक विविधताले महत्वपूर्ण मानिएको घोडाघोडी ताल क्षेत्रमा पाइने चरा प्रजातिको सङ्ख्या अब ३४२ पुगेको छ । पछिल्लो समय संरक्षणप्रतिको सचेतना, बासस्थानमा केही सुधारलगायतका कारणले यो ताल क्षेत्रमा चराको प्रजाति थप हुँदै गएको पाइएको चराविद डङ्गौराको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?