गोकर्ण दयाल
बैतडी, असार ४ गते । बाह्रै महिना सुख्खा रहने बैतडीको सतबाँझ सुख्खा फलफूल विकास केन्द्रमा स्थापानाको ७८ वर्षपछि कलकल पानी बग्न थालेको छ । पानीले २९ हेक्टर क्षेत्रफलमा लगाइएका नर्सरीका ५० हजार बोटमा सिँचाइ पुग्नेछ । समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको सतबाँझ सुख्खा फलफूल विकास केन्द्रमा सुदूरपश्चिम प्रदेश सरकारकोे पहलमा डिप बोरिङबाट चार इन्चको पाइपमा पानी बग्न थालेको हो ।
दशरथचन्द नगरपालिका -१, गुरुखोलामाथि सतबाँझमा २०१९ सालमा २९ हेक्टर क्षेत्रफलमा छ हजार स्याउका बोट लगाएर सतबाँझ बागवानी स्थापना भएको थियो । कुनै बेला लटरम्म स्याउ फल्ने बैतडीको सतबाँझमा पछिल्लो समय सय स्याउ फल्न छोडेपछि त्यहाँ हिँउदे फलफूलको नर्सरी उत्पादन भइरहेको छ । नर्सरीमा ओखर, कागजी बदा, जैतुन, कागती, नास्पातीलगायत फलफूलको बिरूवा छन् ।
सुख्खा डाँडोमा डिप बोरिङ्बाट प्रदेश सरकारले पानी पुर्याउने योजना सफल गरेपछि बैतडीवासीले ‘प्रदेश सरकारको काम होस् यस्तो!’ भन्न थालेका छन् । सुख्खा डाँडोमा कलकल पानी बग्न थालेपछि नर्सरीमा हुर्किरहेका ५० हजार बोटबिरुवाले पानी पाउने केन्द्रले जानकारी दिएको छ । नर्सरी हुर्काउन पानी किन्नुपर्ने र आकाशे पानीको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएपछि फलफूल विकास केन्द्रका कर्मचारी खुसी भएका छन् । प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको पहलमा सतबाँझ सुख्खा फलफूल विकास केन्द्रले २९ हेक्टर क्षेत्रफल जग्गाले ७८ वर्षपछि पानी पाएको सतबाँझ सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्बर भाटले बताउनुभयो ।
डिप बोरिङबाट पानी पुर्याउन ४६ लाख रुपियाँको ठेक्का भएको थियो । यशियन ड्रिल कम्पनीले निर्माण गरेको बोरिङले ९० मिटर गहिराइबाट चार इन्च मोटो पाइपमा पानी निकालेको हो । साबिकको गुरुखोलादेखि र बासुलिङ गाविससम्म फैलिएको सतबाँझ सुख्खा फलफूल केन्द्र नेपाल सरकारको पूर्ण स्वामित्वमा रहनेगरी २०१९ सालमा स्थापना भएको थियो । सतबाँझ फलफूल केन्द्रमा भारतको कश्मीरलगायत विभिन्न देशहरूबाट ७३ प्रजातिका छ हजार स्याउका बोटहरू ल्याएर २९ हेक्टर क्षेत्रफलमा फलफूल केन्द्र स्थापना गरिएको थियो । जलवायु परिवर्तनका कारण स्याउ लोप भएपछि अहिले ओखरलगायतकाे नर्सरीलाई प्राथमिकता दिएको फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताउनुभयो ।