नवराज कट्टेल
विराटनगर, असार ४ गते । प्रदेश १ मा आज कोरोना सङ्क्रमण निकौ भई ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका नाै र भोजपुरका चार जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् । सुन्दरहरैचाबाट डिस्चार्ज हुनेहरूलाई आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला, राजकुमार ओझा, सुन्दरहरैचाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङलगायतले बिदाइ गर्नुभयो ।
अस्पतालबाट डिस्चार्ज भएकाहरूलाई बिदाइ गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदैगएको बताउनुभयो । प्रदेशवासीले चाँडै सुखद खबर सुन्न पाउने मन्त्री घिमिरेले बताउनुभयो । कोरोना सङ्क्रमण अन्त्यको आधार तय हुँदैगएको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा मात्र सङ्क्रमण देखिएकाले चाँडै कोरोना नियन्त्रणमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । क्वारेन्टाइनमा मात्र सङ्क्रमण देखिएकाले क्वारेन्टाइनलाई व्यवस्थित गर्दै लैजाने मन्त्री घिमिरेको भनाइ छ । मापदण्डविपरीतका क्वारेन्टाइन बन्द गर्दै लैजाने उहाँले बताउनुभयो ।
आज डिस्चार्ज हुनेहरू गत जेठ २२ गतेदेखि २६ गतेसम्म भर्ना भएकाहरू रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र सङ्कायका डीन डा. शैलेशमणि पोखरेलले जानकारी दिनुभयो । प्रदेश १ मा आज ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २२४ पुगेको छ ।
सङ्क्रमितको सङ्ख्या ४१६ रहेको छ ।
सङ्क्रमितमध्ये २९ जना कोशी कोभिड अस्पताल विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ र ७८ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत रहेका छन् ।