logo
२०८१ बैशाख १३ बिहीवार



बाँकेमा एउटै वडाका ४१ जना निको भए, आइसोलेसन सेन्टर रित्तिँदै

प्रदेश |


बाँकेमा एउटै वडाका ४१ जना निको भए, आइसोलेसन सेन्टर रित्तिँदै


सिराज खान/गोविन्द शर्मा
नेपालगञ्ज, असार ५ गते । बाँकेमा शुक्रबार एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदैछन् । उनीहरू सबै जानकी गाउँपालिकाको वडा नंं १ का बासिन्दा हुन् ।
स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेको जानकी गाउँपालिकाको जोगागाउँ माध्यमिक विद्यालय आइसोलेसनका रहेका जानकी -१ का ४१ जना संङ्क्रमितहरूलाई सरकारको मापदण्ड बमोजिम जाँच प्रक्रिया पूरा गरी निको भएपछि डिस्चार्ज गरिएको हो ।
सङ्क्रमण पुष्टि भएको १६ दिनपछि सरकारको नयाँ मापदण्ड अनुसार निको भएकोले उनीहरूलाई डिस्चार्ज गरिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार हालसम्म जिल्लामा सङ्क्रमण पुष्टि भएका ३२७ मध्ये दुई जनाको मृत्यु भइसकेको छ भने २५० जना निको भएर घर फर्किसकेका छन् ।
अब ७५ जना मात्र बाँकेका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरूका रहेको पनि श्रेष्ठले बताउनुभयो ।
बाँकेका सङ्क्रमितहरू निको भएर फर्किने क्रम बढ्दैगएकोले जिल्लाका आइसोलेसन सेन्टरहरू पनि रित्तिन थालेका छन् । क्वारेन्टाइनहरूमा पनि अब दुई हजार जना मात्र रहेका छन् ।
भारतबाट आउनेहरूको सङ्ख्या पनि निकै घटेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । उहाँले बिहीबार ३९८ जना मात्र भारतबाट नेपालगञ्ज नाका भएर फर्किएको बताउनुभयो ।
उहाँका अनुसार एक साताअघिसम्म नेपालगञ्ज नाकाबाट फर्किनेहरूको सङ्ख्या १५ सय देखि दुई हजार सम्म रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?