logo
२०८१ मंसिर १३ बिहीवार



कोभिडसँग जुध्न 'एक वडा, एक कृषि प्राविधिक'

प्रदेश |


कोभिडसँग जुध्न  'एक वडा, एक कृषि प्राविधिक'


गोकर्ण पौडेल
तुलसीपुर, असार ५ गते । तुलसीपुर उपमहानगरपालिकाले कोभिड-१९ सँग जुध्न 'एक वडा, एक कृषि प्राविधिक' व्यवस्था गर्ने भएको छ । उपमहानगरको आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख घनश्याम पाण्डेले विदेशबाट फर्किएका युवाहरूलाइ लक्षित गर्दै कृषि क्षेत्रमा उत्पादन वृद्विका लागि कृषिमैत्री नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।

कृषिमा आधुनिकीकरण, भू-उपभोग नीति, कृषि पकेट क्षेत्र, बीउ आयात कम गर्दै हाइब्रिड बीउ विस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी, रैथाने अन्नबालीको बिजन बैङ्क स्थापना गरी संरक्षण गरिने, बाँझो जग्गा राख्नेलाइ दण्ड जरिवाना, माटोको उपचार केन्द्र, गाउँमा एक गाउँ एक कृषि फर्म र शहरमा कौसीखेती, जग्गा चख्लाबन्दी गरी खेतीपाती गर्ने किसानका लागि अनुदानको व्यवस्था गरिने भएको छ । त्यसैगरी, दाङको चिनारीको रुपमा रहेको बदिया भाले उत्पादन वृद्वि गर्ने किसानलाई सहयोग गरिने उल्लेख गरिएको छ । जग्गा लिजमा लिएर सामूहिकमा खेती गर्ने किसानलाई लिजबापतको रकम उपलब्ध गराइने भएको छ ।

तुलसीपुर विकास प्राधिकरणमार्फत आर्थिक वर्ष २०७६/०७७मा ८० किलोमिटर सडक कालोपत्र गर्ने आधार तयार पारिएकोे नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । विकास निर्माणका लागि गति दिनका लागि प्रत्येक वडामा इन्जिनियरको व्यवस्थापन गरिनेछ । आर्थिक वर्ष ०७६/०७७मा तुलसीपुर प्राविधिक शिक्षालय, अटो भिलेज, तुलसीपुर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको, छिल्लीकोटसम्म पुग्नका लागि केबुलकार सम्भावना अध्ययन, सुत्केरी प्रोत्साहन भत्ताका कारण शिशु मृत्युदर शून्यमा झारिएको नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । आर्थिक वर्ष २०७५/७६देखि तीनपटक स्वास्थ्य संस्थामा गर्भवती भएको अवस्थामा चेकजाँच गराए र स्वास्थ्य संस्थामा सुत्केरी भए पाँच हजार रुपियाँ उपलब्ध गराउँदैआएको छ ।
आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रममा शिक्षातर्फ उपमहानगर क्षेत्रभित्र रहेका विद्यालयहरूलाई मर्ज गर्दै ३० वटा नमूना विद्यालय बनाउने उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?