logo
२०८१ बैशाख २६ बुधवार



कतै क्वारेन्टाइन र आइसोलेसन खाली हुँदै, कतै बनाइँदै

प्रदेश |


कतै क्वारेन्टाइन र आइसोलेसन खाली हुँदै, कतै बनाइँदै


चाँदनी आचार्य
लम्की, असार ५ गते । कैलालीका विभिन्न स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइन खाली हुँदैगएका छन् । जेठको अन्तिम साता भरिभराउ भएका क्वारेन्टाइन भारतबाट आउनेको सङ्ख्या कम भएपछि र क्वारेन्टाइनमा बस्नेहरू १४ दिन बसेर घर गएपछि क्वारेन्टाइन खाली हुँदैगएका हुन् । जिल्लाको सबैभन्दा बढी क्वारेन्टाइनमा बस्ने मानिस भएको घोडाघोडी नगरपालिकाले ६५ वटा विद्यालयलाई क्वारेन्टाइन बनाई बस्ने व्यवस्था मिलाएको थियो । जेठको अन्तिम साता तीन हजार बढी मानिस भएको क्वारेन्टाइन अहिले खाली हुँदैगएका छन् ।

नगरप्रमुख ममताप्रसाद चौधरीले स्वास्थ्य मन्त्रालयको निर्देशनबमोजिम भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्दै आएकोमा समयावधि पूरा भएपछि घर पठाइएको बताउनुभयो । साथै उहाँले अब आउनेको सङ्ख्या धेरै नहुने भएकाले सम्बन्धित वडाले अभिलेख राखी घरमै होम क्वारेन्टाइनमा बस्नेगरी घर पठाउने व्यवस्था मिलाइएको बताउनुभयो ।

नगरप्रमुख चौधरीले भन्नुभयो ‘जेठ महिनामा भारतबाट आउनेको चाप बढेको थियो । धेरै जनासँगै आउँदा जोखिम देखिएकाले अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएका थियौँ । अब आउनेको सङ्ख्या थोरै छ । धेरै मानिस आफू र परिवारलाई कसरी सुरक्षित बनाउने भन्नेमा सचेत भइसकेका छन् । त्यसैले अब आउने नागरिकलाई होम क्वारेन्टाइनमा सल्लाह दिएका छौँ । विद्यालयका क्वारेन्टाइन खाली हुँदैछन् । एक, डेढ सय होलान आज भोलि उनीहरू पनि घर जान्छन् ।’

नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन वार्डसमेत खाली भएको छ । घोडाघोडी बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको आइसोलेसनमा आरडीटी पोजिटिभ ९६ जना र पीसीआर पोजिटिभ एक जनालाई राखिएको थियो । चौध दिनसम्म बसेका उनीहरूमा कुनै समस्या नदेखिएपछि घर पठाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

त्यसैगरी, जिल्लाका अन्य १२ वटा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइनमा समेत मानिसको चाप घट्दै गइरहेको जनाइएको छ ।

भारतबाट आएकालाई घर पठाएको भन्दै स्थानीयद्वारा विरोध
घोडाघोडी नगरपालिकाले भारतबाट अब आउने नागरिकलाई होम क्वारेन्टाइनमा बस्ने गरी नगरपालिकाको क्वारेन्टाइन खाली गरेपछि स्थानीयले विरोध जनाएका छन् । । घोडाघोडी-१, कौवा टोलका भारतबाट आएका केही मानिसलाई क्वारेन्टाइनमा एक-दुईदिन राखेर घर पठाएपछि उनीहरू आक्रोशित बनेका हुन् । शुक्रबार सडकमै उत्रेका स्थानीयले कसैलाई १४ दिन क्वारेन्टाइनमा बस्न लगाउने, कसैलाई क्वारेन्टाइन नबसी घर जान दिने कार्य सही नभएको बताएका छन् । क्वारेन्टाइनमा नबसी घर गएका उनीहरूबाट परिवार तथा गाउँका अन्य मानिसलाई समेत जोखिम हुनसक्ने भन्दै विरोध जनाएका थिए ।

धनगढी उप–महानगरपालिका आफैँ आइसोलेसन निर्माणमा जुट्यो
प्रदेशले स्थापना गरेको कोरोना अस्पतालमा सङ्क्रमितको उपचार गर्न ठाउँ नभएपछि धनगढी उप–महानगरपालिकाले आफ्नै आइसोलेसन कक्षहरू निर्माणमा जुटेको छ । धनगढी उप–महानगरपालिका वडा नं १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रको भवनमा आइसोलेसन कक्ष तयार भइरहेको छ । धनगढी उप–महानगरपालिका क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत निर्माण भएको खाली भवनमा अहिलेलाई झण्डै २८ शय्याको आइसोलेसन तयारीको चरणमा पुगेको छ । 'हामीले चिकित्सकसँग सल्लाह लिएका छौँ' धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भन्नुभयाे, 'बढीमा एक सय शय्यासम्मको आइसोलेसन निर्माण गर्न सकिने राय चिकित्सकहरूले दिएका छन् ।'

यस आइसोलेसन भवनमा धनगढी उप–महानगरपालिका कोरोना सङ्क्रमितहरूको मात्रै उपचार गरिने नगरप्रमुख वडले बताउनुभयाे । 'सेती प्रादेशिक अस्पताललाई प्रदेश सरकारले कोरोना अस्पतालको रुपमा तयार गरेपनि सङ्क्रमितको सङ्ख्या बढेकाले आइसोलेसनमा राख्नपर्ने बिरामीले पनि ठाउँ पाएका छैनन्' नगरप्रमुख वडले भन्नुभयो, 'सबै स्थानीय तहले आफैँ आइसोलेसन कक्ष बनाउन सकेमा त्यहाँको चाप घट्नसक्छ ।' उप–महानगरपालिकाले तयार गर्न लागेको आइसोलेसनमा शय्याहरू मिलाउने, बिजुलीबत्ती र उपकरणहरू जडान गर्ने काम भइरहेको नगरप्रमुख वडले बताउनुभयो ।

धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण बरालले एक/दुई दिनमा नै सञ्चालनमा ल्याउन सक्ने गरी आइसोलेसन कक्षहरू निर्माणको काम भइरहेको बताउनुभयो । 'प्रदेश सरकारले सुरुमै गेटा मेडिकल कलेजलाई कोरोना अस्पतालको रुपमा तयारी गरेको भए अहिले अवश्यकता अनुसार आइसोलेसन कक्ष त्यही थप गर्न सकिन्थ्यो,' संयोजक बरालले भन्नुभयो, 'बिरामीको चाप भइरहने सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउँदा सङ्क्रमितहरूको उपचारमा समस्या भएको हो । गेटा मेडिकल कलेजमा पाँच सयभन्दा बढी आइसोलेसन कक्ष बनाउन सक्ने ठाउँ छ, त्यहाँ सुरुमै बनाएको भए प्रदेशभरि नै आइसोलेसनको समस्या हुने थिएन ।'

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?