logo
२०८१ फाल्गुन १९ सोमवार



बन्दाबन्दीमा विकास निर्माण जारी

प्रदेश |


बन्दाबन्दीमा विकास निर्माण जारी


प्रदेश ५ ब्युरो

बुटवल, असार ६ गते । कोरोनाको त्रास र बन्दाबन्दीमा सबै क्षेत्र नराम्ररी प्रभावित भए पनि प्रदेश ५ मा विकास निर्माणका कार्य जारी छन् । राष्ट्रिय गौरवका आयोजनासँगै अधिकांश स्थानीय तहले यो बेला आआफ्ना क्षेत्रमा पर्ने दीर्घकालीन महŒवका र आन्तरिक विकास निर्माणलाई तीव्रता दिएका छन् ।
बन्दाबन्दीबाट रोजगारी गुमेका श्रमिक र विपन्नलाई यसअघि राहत बाँडिरहेका कैयौँ स्थानीय तहले त्यस्ता नागरिकलाई निर्माणमा लगाएर पारिश्रमिक दिइरहेका छन् ।
नेपाल नगरपालिका सङ्घ प्रदेश ५ का संयोजक शिवराज सुवेदीका अनुसार यस प्रदेशका अधिकांश स्थानीय तहले सडक, नाली, दीर्घकालीन महŒवमा संरचना लगायतका विकास निर्माण गरिरहेका छन् ।
प्रदेशको अस्थायी राजधानी बुटवलमा अहिले बाइपास सडक, पुल, भित्री सडक, बहुउपयोगी संरचना लगायतको निर्माण धमाधम भइरहेको छ । कालिकापथ आन्तरिक बाइपास सडकको रोकिएको निर्माण पनि तीव्र बनेको छ ।

काम तीव्र
नेपालगञ्ज समाचारदाताका अनुसार यति बेला बाँके जिल्लामा पनि विकास निर्माणका काम तीव्र पारिएको छ । चालू आर्थिक वर्ष २०७६÷७७ सकिनै लागेकाले पनि विकास निर्माणका कामलाई जिल्लामा तीव्र पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवाङ्गले बताउनुभयो ।
विभिन्न स्थानीय तहमा पनि विकासका काम धमाधम भइरहेको जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवले बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने जीर्ण अवस्थामा पुगेका सडकको मर्मतसम्भार र निर्माण गराइरहेको छ । धम्बोझी र कारकादौँमा रहेको वाटर पार्क निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

बन्दाबन्दीमै निर्माण
भैरहवा समाचारदाताका अनुसार सरकारले घोषणा गरेको बन्दाबन्दीकै अवधिमा भैरहवामा विकास निर्माणका ६० प्रतिशत आयोजना पूरा भएका छन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बाँकी योजना सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
नगरपालिकाले चालू आर्थिक वर्षका लागि निर्माण योजनामा पाँच किलोमिटर पक्की नाला, चार किलोमिटर ग्राभेल सडक, साढे तीन किलोमिटर आरसीसी, दुई किलोमिटर सडक कालोपत्रे बनाउने योजना समेटेको थियो ।
क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत यस आर्थिक वर्षमा २५ किलोमिटर सडक कालोपत्रे, ६२ किलोमिटर नाला निर्माण, १० किलोमिटर फुटपाथ र दुई हजार बिरुवा रोपेर वृक्षारोपण गरिएको नगरपालिकाले
जनाएको छ ।
नगरपालिकामा सडक तथा ढल निकासलाई मुख्य केन्द्रबिन्दु बनाई एसियाली विकास बैङ्कको लगानीमा नगरपालिका क्षेत्रका धेरै सडक तथा नाला निर्माण सम्पन्न भइसकेको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

चक्रपथ धमाधम
बुटवल समाचारदाताका अनुसार सैनामैना नगरपालिकाले विकास निर्माणका कामलाई तीव्र रूपमा अघि बढाएको छ । नगरभित्र सञ्चालित योजना सुरक्षित तवरले अघि बढाउन आवासीय मजदुर र निर्माण सामग्रीको व्यवस्थापन गरी निर्माणका योजनाहरू अघि बढेका छन् ।
नगरप्रमुख चित्रबहादुर कार्कीले नगरकै गौरवको आयोजनाका रूपमा रहेको सैनामैना चक्रपथ निर्माण अहिले भइरहेको बताउनुभयो ।
त्यसैगरी चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने सडक, कल्भर्ट, विद्युत् विस्तार लगायतका निर्माणका काम अहिले नियमित भएका छन् ।
उहाँले निर्माण सामग्री सहज उपलब्ध हुन थालेपछि नगरका विभिन्न वडामा अहिले नाली निर्माणको कामसमेत भइरहेको जानकारी दिनुभयो ।

निर्माण सम्पन्न
देउखुरी समाचारदाताका अनुसार लमही–कोइलाबास सडक कालोपत्रे कार्य करिब सकिएको छ । हुलाकी सडकखण्ड निर्माणसँगै कोइलाबास नाका पुग्न हिउँद कुर्नुपर्ने र भारतको सडक प्रयोग गर्नुपर्ने बाध्यता पूर्ण रूपमा अन्त्य भएको छ । भारतसँग सिमा  जोडिएका ३४ वटा नाकामध्ये धेरै नाकामा सडक पुगिसकेको छ ।
दाङको राजपुर गाउँपालिकाको बेला, पटौली, जङ्ग्रहवा, खाङ्ग्रा, सुनछहारी, सुनपथरी सडक गरी नाका जोड्ने
तीनवटा ठाडो बाटो निर्माणको काम भइरहेको छ । पूर्व कोइलाबासदेखि पश्चिम भौवा नाकासम्म बर्डरलाइन सडकको ट्र्याक खोलिएको छ । यसले गर्दा दाङका सबैजसो नाकामा पुग्न भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता
हट्दै छ ।
गाउँपालिकाले सडकको ट्र्याक खोलेपछि प्रदेश सरकार र स्थानीय सरकारबाट उक्त सडक निर्माण  भएको हो ।   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?