भक्तिविलास पोखरेल
गाईघाट, असार ६ गते । मध्यपहाडी लोकमार्गमा जोडिने घुर्मी–चतरा खण्डको सडक निर्माण गरिने भएको छ । लामो समयदेखि अलपत्र रहेको यो सडकको निर्माणमा उदपयुर जिल्लाका कटारी नगरपालिका, लिम्चुङ्बुङ्ग गाउँपालिका र ताप्ली गाउँपालिका जुटेका छन् । कोसी करिडरका नामले चिनिने यो सडक खण्डको निर्माणमा यी तीन स्थानीय तहले संयुक्त रुपमा लगानी गर्ने भएका हुन् ।
झण्डै दश वर्षअघि नै यो सडकको उदयपुरको घुर्मीदेखि सुनसरीको चतरासम्मको १६७ किलोमिटरमध्ये ६० किलोमिटर सडकमा ट्रयाक खोल्ने काम २०६७ मै सुरु भएको थियो । ठेक्का नै लगाएर निर्माण प्रारम्भ भए पनि सडकको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन नगरेको भन्दै साविक जिल्ला वन कार्यालय, उदयपुरले निर्माण कार्य रोकेको थियो । त्यसपछि सडकको ट्र्याक खोल्ने काम रोकिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी, उदयपुरका अध्यक्ष विनोद कटुवालको अध्यक्षतामा कटारी नगरपालिकाको कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले सङ्घीय सरकारले बजेट कटौती गरी अलपत्र पारेको उक्त सडक निर्माणका लागि तत्काल करिब चार करोड रुपियाँ व्यवस्था गर्ने निर्णय गरेको हो । यहाँका तीनवटा स्थानीय तहले उक्त रकम व्यवस्था गरी सडक निर्माण गर्ने निर्णय भएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
२०६७ सालमा २० वटा निर्माण कम्पनीले २० ठाउँबाट ट्र्याक खोल्न सुरु गरेका थिए । तर साविकको जिल्ला वन कार्यालयले वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) नगरी निर्माण कम्पनीले काम गर्न थालेको भन्दै काम रोकेको थियो । पछि सरकारबाट (ईआईए) स्वीकृत गराएपछि मूल्य समायोजनको माग गर्दै निर्माण कम्पनीका ठेकेदारले काम बीचैमा छोडेर हिँडेकाले अव आपूmहरुले निर्माण कार्यलाई निरन्तरता दिन लागेको नेपाल कम्युनिस्ट पार्टी उदयपुरका अध्यक्ष विनोद कटुवालले बताउनुभयो ।
ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले वन कार्यालयले ईआईए गरेर काम अगाडि बढाउन सरकारी प्रक्रिया टुङ्ग्याउँदा पनि काम सुरु नभएपछि स्थानीय तहले मिलेर सडक निर्माण गर्न लागिएको हो भन्नुभयो । उदयपुरका सात स्थानीय तहलाई कोसी करिडोरले छुन्छ ।
विराटनगर, काडमाडौँ लगायतका सहर पुग्ने छोटो दूरीको सडक भएकाले यसले कृषि, पर्यटनमा फाइदा पुग्ने लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई बताउनुभयो । उहाँले भन्नुभयो ‘विस्तारै रौतामाई गाउँपालिका, त्रियुगा, चौदण्डी नगरपालिका र बेलका नगरपालिकासँग पनि सहकार्य गरिने छ ।’
कोसी करिडोरले उदयपुरको बेलका, त्रियुगा, कटारी नगरपालिका, रौतामाई, ताप्ली र लिम्चुङबुङ गाँउपालिकाका सर्वसाधारणलाई सुविधा पु¥याउने छ । यसका साथै यो सडक खोटाङ, सोलुखम्बु र ओखलढुङ्गा जिल्लालाई प्रदेश १ को राजधानी विराटनगरसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक हो । यो सुनसरी, धनकुटा, भोजपुर लगायतका पूर्वी नेपाललाई काठमाडौं जोड्ने छोटो दूरीको सडक पनि हो ।