logo
२०८१ फाल्गुन १९ सोमवार



गण्डकीमा थप ५८ जनामा कोरोना सङ्क्रमण, कुल ४३८ पुग्यो

प्रदेश |


गण्डकीमा थप ५८ जनामा कोरोना सङ्क्रमण, कुल ४३८ पुग्यो


चन्द्रप्रकाश शर्मा

पोखरा, असार ६ गते । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान प्रकाशित गरेको विज्ञप्ति अनुसार नयाँ सङ्क्रमितसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ४३८ पुगेको छ । नयाँ सङ्क्रमण पुष्टि हुनेमा तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा पाँच, कास्कीमा दुई, स्याङ्जामा एक, म्याग्दीमा एक जना रहेका छन् ।

नयाँ सङ्क्रमण पुष्टि भएका सबै भारतबाट आई स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइनमा बसेकाहरू रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा २१ जना पुरुष, व्यास नगरपालिकाको क्वारेन्टाइनमा बसेका दुई जना पुरुष, शुक्लागण्डकी नगरपालिकाको क्वारेन्टाइनमा बसेका दुई जना पुरुष, नवलपरासीको बुलिङटार गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ११ जना पुरुष, मध्यविन्दु नगरपालिकाको क्वारेन्टाइनमा बसेका दुई जना पुरुष, बौदीकाली गाउँपालिका, विनयत्रिवेणी गाउँपालिका र देवचुली नगरपालिकाको क्वारेन्टाइनमा बसेका १/१ जना पुरुष रहेका छन् ।

यस्तै, बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका सात जना पुरुष र एक जना महिला, गोरखाको भीमसेन नगरपालिकाको क्वारेन्टाइनमा बसेका पाँच जना पुरुष, कास्कीको मादी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुष र १९ महिनाको बालिका, स्याङ्जाका एक पुरुष र म्याग्दीको मालिका गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित सबैलाई सम्बन्धित जिल्लामा स्थापना गरिएको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । नयाँ सङ्क्रमित थपिएसँगै हालसम्म गण्डकीको नवलपरासी पूर्वमा ११५, स्याङ्जामा ७६ जना, बागलुङमा ७४ जना, तनहुँमा ६८ जना, पर्वतमा ४३, गोरखामा ४१ जना, कास्कीमा १५ जना, म्याग्दीमा चार जना र लमजुङ र मनाङमा एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण भएका ४३८ जनामध्ये ३९ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किसकेको र एक जनाको मृत्यु भएको छ ।

क्वारेन्टाइनमा बसेर भागेका सङक्रमितको खोजी तीव्र
स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार भारतबाट आएर क्वारेन्टाइनमा बसेर भागेका एक व्यक्ति सङक्रमित भेटिएपछि जिल्ला प्रशासन स्याङ्जाले खोजीलाई तीव्र पारेको छ । आँधीखोला गाउँपालिकाको क्वारेन्टाइनबाट दुई जना भागेकोमा १९ वर्षीय युवकमा बिहीबार कोरोना सङक्रमण भएको पुष्टि भएको थियो ।
जेठ २० गते परिवारसँगै भारतबाट आएका युवाको जेठ २५ गते स्वाब लिइएको थियो । आँधीखोला-५ का १९ वर्षीय युवा ३४ वर्षीय भाउजू, १३ वर्षीय भतिजासँगै आएको र सबैमा कोरोना सङक्रमण भेटिएको थियो । स्वाब लिएपछि क्वारेन्टाइनमा बसेका युवा एक साथीसँगै जेठ ३२ गते भागेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
भागेका युवामध्ये एक जनाको मोबाइलको लोकेसनको आधारमा खोजीलाई तीव्र पारेको क्षेत्रीले बताउनुभयो । कोरोनाका महामारीमा स्याङ्जामा बिहीबार नौ जना कोरोना सङक्रमित थपिएकोमा क्वारेन्टाइनमा बसेर भागेका युवाको पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?