logo
२०८० चैत्र १६ शुक्रवार

   राप्तीमा बाढीकाे खतरा  



 बाढीले खतराको विन्दु नाघ्याे, साइरन बज्यो, उद्धार टोली तयार

प्रदेश |


 बाढीले खतराको विन्दु नाघ्याे, साइरन बज्यो, उद्धार टोली तयार


सिराज खान
नेपालगञ्ज, असार ६ गते । दाङ, रोल्पा, प्युठान र बाँकेमा शनिबार बिहानैदेखि लगातार भइरहेको वर्षाले राप्ती नदीमा पानीको सतहले ‘खतराको विन्दु’ पार गरेर धेरै माथि बगिरहेको छ । राप्ती नदीमा पानीको सतह ५.४० मिटर भन्दा बढी पुगेपछि खतराको निशान पार गरेको मानिन्छ ।
शनिबार बेलुका ६ः४५ बजे नदीको सतहले ५.७४ मिटर पार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
उहाँले साँझ पौने सात बजेतिर नदीको सतहले ५.७४ मिटर पार गरेकोले बाढीको ठूलो खतरा देखिएको जनाउनुभयो । पानीको सतह ६ मिटर पुगेपछि राप्तीमा बाढी आउने र सो बाढीले बाँकेका धेरै ठाउँमा क्षति पुर्याउने छ ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले कुसुममा रहेको सो बाढी मापन केन्द्रबाट बाढीसहितको नदी होलियासम्म पुग्न करिब चारदेखि पाँच घण्टा लाग्ने भएकोले तत्काल खतराको साइरन बजाइएको बताउनुभयो ।
साइरन बज्नेबित्तिकै नदी पस्ने सम्भावित क्षेत्रका बासिन्दाहरू सुरक्षित स्थानमा जान थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार विभिन्न एफएम रेडियो र अन्य माध्यमबाट सम्भावित खतरामा रहेकाहरूलाई अग्लो ठाउँमा जान सूचना तथा जानकारी दिने काम गरिएको छ ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत गौरी बुढाथोकीले नदीको सतहले खतराको विन्दु पार गरिसकेकाले बाढी पस्ने सम्भावित क्षेत्रहरूमा साइरन बजाइएको जानकारी दिनुभयो । उहाँका अनुसार राप्तीसोनारी गाउँपालिकाका १ देखि ७ सम्मका वडाहरू, डुडवाका १ देखि ३ र नरैनापुरका ५ र ६ नम्बर वडा अत्यधिक जोखिममा रहेका छन् ।
नदी मापन केन्द्र रहेको कुसुमबाट होलियासम्म पानी आउन करिब चारदेखि पाँच घण्टा लाग्ने बुढाथोकीले बताउनुभयो ।
राप्ती नदीमा पानीको सतह ५.४० मिटर पुग्दा फत्तेपुर, होलिया, बेतहनी, कम्दी, गङ्गापुर, नरैनापुरमा डुबान हुने गर्दछ । अहिले नदीको सतहले ५.७४ मिटर पार गरिसकेकोले ती क्षेत्रमा डुबान हुने निश्चित भएको छ ।
भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधका ढोकाहरू समयमा खोलिदिँदा डुबानको जोखिम कम हुन्छ । तर, बाँधको ढोकाहरू खोल्दा आफ्नो देशमा डुबान हुने भएकाले भारतले ढोका खोल्दैन, जसले गर्दा बाँकेमा डुबान हुँदैआएको छ ।
जिल्ला आपतकालीन कक्षले उद्धार सामाग्रीसहित उद्धार टोलीलाई राप्तीसोनारी, डुडुवा र नरैनापुरमा सतर्क अवस्थामा राखेको जानकारी दिएको छ ।
नदी वरिपरिका गाउँमा पानी पस्ने अवस्था आउनेबित्तिकै उद्धार टोली गाउँमा पुगिसक्ने गरी तयारी अवस्थामा रहेको अधिकारीहरूले बताएका छन् ।
राप्ती नदीले खतराको सङ्केत पार गरेर माथि बग्न थालेको जानकारी साइरनमार्फत आउनेबित्तिकै सम्भावित सबै क्षेत्रमा चेतावनी जारी गरेर सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?