प्रेम अधिकारी
पशुपतिनगर(इलाम),असार ७ गते । इलामको माईजोगमाई गाउँपालिकामा जडिबुटी प्रशाेधन केन्द्र स्थापना गरिने भएको छ । इलाम जिल्लाका उच्च क्षेत्रमा उत्पादन हुँदै आएको ४० प्रकारका जडिबुडी प्रशोधन गर्न प्रदेश १ सरकारले प्रशोधन केन्द्र स्थापना गर्ने भएको हो ।
किसानले उत्पादन गरेको जडिबुटीको प्रशोधन गर्न माईजोगमाई गाउँपालिका २ मा प्रदेश सरकारले जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्ने भएको प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयका योजना महाशाखा प्रमुख अम्बिका चौलागाईंले बताउनुभयो ।
उत्पादन भएको जडिबुटी भारत र चीन निकासी हुने गरेपनि मुल्य नपाएपछि किसान समस्यामा परिरहेकाले प्रशोधन केन्द्र स्थापनाको योजना अघि सारिएको महाशाखा प्रमुख चौलागाईंले जानकारी दिनुभयो ।
उत्पादन भएको जडिबुटीको मुल्य ८० प्रतिशतसम्म कम भएपछि किसानले माग गरेपछि प्रदेश सांसद खिनु लङ्वा लिम्बुको पहलमा प्रशोधन केन्द्र निमार्णको प्रारम्भिक काम शुरु भएको छ । माजोगमाई गाउँपालिका २ स्थित छिपछिपेमा पाँच रोपनी क्षेत्रफलमा स्थापना गरिने प्रशोधन केन्द्र निर्माणका लागि माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले पाँच रोपनी जग्गा निःशुल्क दिनुभएको छ ।
प्रशोधन केन्द्र निर्माणका लागि प्रदेश सासंद खिनु लङ्वा लिम्बुसहित सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले स्थलगत अध्ययन गरिसकेको छ । अध्ययन टोलीले प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक पर्ने संरचना निर्माणबारे स्थानीय तहका जनप्रतिनिधि र जडिबुटी किसानहरुसँग छलफलसमेत गरेको थियो ।
प्रशोधन केन्द्र निर्माणका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका आयुर्वेद विभाग प्रमुख सरोज विश्वासका अनुासर विनियोजन भएको बजेटले योजनाको डीपीआर गर्ने र निर्माणको काम शुरु हुने छ ।
प्रदेश सांसद लिम्बुले वर्षदिनभरि काम गरेर खान नपुग्ने किसानलाई प्रशाेधन केन्द्र स्थापना भएपछि आय आर्जनको बाटो खुल्ने बताउनुभयो । उहाले भन्नुभयो ‘इलामको माथिल्लो क्षेत्र भनेकै जडिबुटीका लागि हो, यो क्षेत्र जडिबुटी उत्पादनमै केन्द्रित गर्नुपर्छ ।’
इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा व्यवसायिक रुपमा किसानले जडिबुटी उत्पादन गर्दैआएका छन । जडिबुटी प्रशोधन केन्द्र स्थापना भएपछि किसानले स्थानीय स्तरमै उचित मुल्यमा बिक्री गर्न सक्ने भएकाले किसानले फाइदा लिने गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताउनुभयो । उहाले भन्नुभयो, ‘केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि गाउँपालिकाका आयआर्जनका स्रोत बढ्नेछन् ।’
प्रशोधन केन्द्रको कामका लागि इलामको सूर्योदय नगरपालिकामा रहेको मेची आयुर्वेद अस्पतालमार्फत बजेट कार्यान्वयन हुने अस्पतालका वरिष्ठ कविराज तीर्थ आचार्यले बताउनुभयो । इलामका किसानले चिराइतो, सतुवा, लौठसल्ला, मजिटो, बिख्मा लगायत ४० प्रकारका जडिबुटी व्यावसायिक रुपमा खेती गर्दैआएका छन् ।