logo
२०८१ फाल्गुन १९ सोमवार

  सामान्य बन्दै नेपालगञ्जकाे जमुनाह नाका  



लकडाउनपछि ५७ हजार नेपाली भित्रिए, २५ हजार भारतीय बाहिरिए

प्रदेश |


लकडाउनपछि ५७ हजार नेपाली भित्रिए, २५ हजार भारतीय बाहिरिए


सिराज खान
नेपालगञ्ज, असार ७ गते । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन शुरु गरेर सिमाना बन्द गरिएयता चैत ११ गतेदेखि हालसम्म नेपालगञ्जको जमुनाह नाका हुँदै साढे ५७ हजार नेपालीहरू स्वदेश फर्किएका छन् ।

सोही अवधिमा नेपालबाट भारत फर्किने भारतीयहरूको सङ्ख्या २५ हजार ८ सय ७६ जना रहेको यहाँस्थित नेपाल भारत सिमानामा रहेको ईलाका प्रहरी कार्यालय, जमुनाहाले जनाएको छ । स्वदेश फर्किनेहरूमा भारतका विभिन्न सहरहरूमा रोजगारीका लागि गएका कर्णाली प्रदेश र प्रदेश पाँचका अधिकांश बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
लकडाउन शुरु गरिएको दिन गत चैत ११ गतेदेखि असार ६ गते बेलुकीसम्म नेपालगञ्जस्थित जमुनाहा नाकाबाट ५७ हजार ४५९ जना नेपालीहरू भित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी प्रमुख विष्णु गिरीले बताउनुभयो ।

प्रमुख गिरीका अनुसार सबैभन्दा धेरै जेठ महिनामा ४३ हजार ८३८ जना नेपालीहरू यो नाका भएर स्वदेश भित्रिएका छन् । त्योभन्दा अघि चैत महिनाको १९ दिनमा भित्रिनेको सङ्ख्या ११ हजार ९०७ जना रहेको थियो ।जमुनाहा प्रहरीका अनुसार असार १ देखि ६ गतेसम्म एक हजार ७१४ जना नेपालीहरू भित्रिएका छन् । असारको महिनामा नेपाल फर्किनेहरू निकै घटेको जनाउँदै जमुनाह प्रहरी प्रमुख गिरीले अहिले आएर दैनिक तीन सयको हाराहारीमा मात्र नेपालीहरू फर्किरहेको बताउनुभयो । भारतमा उद्योग कलकारखाना र होटलहरू बन्द भएपछि नेपालीहरूलाई फिर्ता पठाउन शुरु गरिएकोले जेठ महिनामा एकैपटक धेरैजना आएपछि सो समयमा सिमानामा फर्किनेहरूको चाप अत्याधिक बढेको थियो ।

वैशाख र जेठमा नेपाल फर्किनेहरूको चाप अत्यधिक बढेपछि सिमानामा उनीहरूको व्यवस्थापन गर्न समस्या भएको थियो । सोही कारणले शुरुमा उनीहरूलाई सम्बन्धित जिल्लामा पठाउन पनि समस्या भएको थियो । भारतबाट फर्किनेहरूमा नै सबैभन्दा बढी कोरोना देखिन थालेपछि प्रशासनले क्रमशः सिमानालाई व्यवस्थित गर्दै नेपाल फर्किनेहरूलाई सिमानाबाटै सोझै सम्बन्धित पालिकाहरूमा पठाउने व्यवस्था मिलाएको छ ।

जमुनाहमा होल्डिङ सेन्टर नै स्थापना गरेर त्यहाँबाटै भारतबाट फर्किनेहरूलाई सम्बन्धित जिल्लाहरूमा पठाउने गरिएको छ । आइतबारबाट कोहलपुरमा पनि होल्डिङ सेन्टर स्थापना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । उहाँका अनुसार सो होल्डिङ सेन्टरबाट पूर्व बुटवल, पश्चिम धनगढी र उत्तर कर्णालीतर्फ जानेहरूलाई व्यवस्थित तरिकाले पठाइनेछ ।

असारको शुरुदेखि भारतबाट फर्किने नेपालीहरू आउने क्रम घट्दैगएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको जोखिमसँगै रोजगारीसमेत गुमेपछि भारतबाट यो नाका भएर फर्किने अधिकांश नेपाली आइसकेकोले अब आउने क्रम घट्दैगएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?