logo
२०८१ मंसिर १३ बिहीवार



कोभिड–१९ व्यवस्थापनमा प्रदेश सरकार अग्रपंक्तिमा

प्रदेश |


कोभिड–१९ व्यवस्थापनमा प्रदेश सरकार अग्रपंक्तिमा


अविनाश चौधरी
धनगढी, असार ८ गते । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कोभिड–१९ रोकथाम र व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताउनुभएको छ । प्रदेश सभामा उठेको प्रश्नको सोमबार सदनमा जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री सुवेदीले रोग रोकथामका लागि आगामी दिनमा पनि प्रदेश सरकार नीति निर्माण, आवश्यक छलफल र समन्वयका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

सुरुवाती चरणमा मुख्यमन्त्रीको अध्यक्षतामा कोरोना भाइरस रोग नियन्त्रण र समन्वय समिति गठन गरी प्रदेशमा आवश्यक नीति, नियम बनाइएको मन्त्रीले उल्लेख गर्नुभयो । जुन समितिले अहिले सङ्कट व्यवस्थापनको रुपमा काम गरिरहेको उहाँको भनाइ थियो ।
यसैगरी, प्रदेशभरिकै स्वास्थ्यकर्मीको टिमलाई प्राविधिक सहजीकरण गर्नका लागि सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको संयोजकत्वमा समिति गठन गरेको उल्लेख गर्नुभयो ।

उहाँले सङ्क्रमितहरूको उपचारको लागि कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा ५०/५० शय्याको ‘प्रिफ्याब हाउस’ निर्माण गरिएको बताउनुभयो । यसैगरी, प्रदेश सरकारले परीक्षणको दायरा बढाएको र धनगढीस्थित प्रयोगशालाबाट हालसम्म पाँच हजार जनाको पीसीआर विधिबाट परीक्षण भएको मन्त्रीले उल्लेख गर्नुभयो । कोरोना भाइरस रोकथाम र व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक मात्रामा पीपीइ सेट, मास्क, पञ्जा, भीटीएमलगायत आवश्यक सामग्री खरिद गरेर वितरण गरेको र केही मात्रामा मौज्दात पनि रहेको मन्त्री सुवेदीले बताउनुभयो ।

पहाडी तीन जिल्लामा बायो मोलिकुलर ल्याबसेट व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको मन्त्रीले उल्लेख गर्नुभयो । उहाँले प्रदेशभरि हालसम्म एक हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको भन्दै थप्नुभयो, ‘दिनप्रति दिन नयाँ सङ्क्रमित थपिँदै गएकाले रोकथाममा चुनौती भए पनि प्रदेश सरकार प्रतिबद्ध छ ।’

सदनमा प्रदेश सभा सदस्यहरूले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना गर्दै आउनुभएको छ । व्यवस्थापन फितलो हुँदा क्वारेन्टाइन ज्यानमारा बन्दैगएको भन्दै उहाँहरूले सरकारको ध्यानाकर्षण गराउँदै आउनुभएको छ । यसैगरी, पीसीआर विधिबाट परीक्षणको दायरा बढाउनुपर्ने माग पनि गर्दैआउनुभएको छ ।

सोमबारको बैठकमा प्रतिपक्षी दलबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य भरतबहादुर खड्काले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर भएर अगाडि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सुरुमै प्रभावकारी व्यवस्थापन नगरिएकाले आज भयावह स्थितिमा पुगेको बताउँदै उहाँले भन्नुभयो, ‘हामी सबै गम्भीर भएर लागौँ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?